काठमाडौं - नेपाल इन्जिनियरिङ एसोसिएसनको टोली शुक्रबार भक्तपुरको ठिमीस्थित शंखधरचोक पुग्यो। हालै सार्वजनिक तथ्यांकअनुसार उपत्यकामा जेब्राक्रस पार गर्दैगर्दा पैदलयात्रु सबैभन्दा बढी दुर्घटनाको सिकार भएको चोक हो यो। सोही कारण अध्ययनका लागि टोली त्यस ठाउँमा पुगेको थियो । टोलीले ६ लेनको सडकमा नक्सा को-यो र दुर्घटनाको कारण खोजी ग-यो।
टोलीमा वरिष्ठ इन्जिनियर सागर वन्त र वातावरणविद् भूषण तुलाधर थिए। स्थानीय, ट्राफिक प्रहरी, सवारी चालक र सडकको अवस्था बुझ्दा ट्राफिक आइल्यान्ड नबनेका कारण दुर्घटना बढेको तथ्य भेटियो। शंखधर चोक पार गर्न पैदल यात्रुले २८ मिटर सडक पार गर्नुपर्छ।
चोकको अवस्था अध्ययन गरेपछि टोलीले हरिहर भवनमा रहेको एसोसिएसनको हलमा छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफलका क्रममा काठमाडौंका फराकिला सडक र त्यसले समेट्न नसकेको पक्षमाथि भएको थियो। सडक सुरक्षा, साइकल मैत्री सडक र सम्पदा क्षेत्रमा पैदलमार्ग बनाउने सकिने वातावरणविद् तथा इन्जिनियरहरूको राय थियो। उनीहरूले काठमाडौंमा ठूला सडक निर्माण गर्दा इन्जिनियरिङ पक्षलाई नहेरिएको बताए । ‘परम्परागत ढर्रामा सडक चौडा पारियो, सडक बनाउन ठूल्ठूला परियोजना ल्याइयो,’ वरिष्ठ इन्जिनियर सागर वन्तले भने, ‘तर सडक बनाउँदा सवारी साधनमैत्री सडक बनाइयो, अन्य मानवीय पक्ष र प्राकृतिक पक्षलाई वास्तै गरिएन ।’ उनका अनुसार इन्जिनियर र सरकारी निकायले उपत्यकामा पूर्वाधार विकास गर्दा प्राकृतिक पाटोलाई हेक्का राखेनन्, जसका कारण उपत्यकामा पैदल यात्रा गर्न निकै असहज हुने गरेको छ। ‘अहिले पनि केही बिग्रिएको छैन, बनेको सडकको केही लेनलाई व्यवस्थापन गरेर साइकल र पैदलमार्गको रुप दिन सकिन्छ,’ उनले थपे, ‘यसबारे सरकारी निकायले इन्जिनियर र वातावरणव्विदसँग आवश्यक छलफल गर्न जरूरी छ।’
उपत्यकामा सबैभन्दा बढी स्कुल जाने समयमा पैदल यात्रा हुने गरेको एसोसिएसनले निकालेको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार उपत्यकामा ४० प्रतिशत मानिस पैदल यात्रा गर्छन् । उपत्यकामा प्रदूषण बढी र पैदलयात्रु मैत्री सडक नभएका कारण थोरैले पैदल यात्रा गर्ने गरेको तथ्यांकमा उल्लेख गरिएको छ। वातावरणविद् तुलाधरले सवारीसाधनको गति तीव्र हुनु, सडकको धुला नउठाउनु, सवारी जाँच नहुनु, सबैतिर सवारीसाधन प्रवेश गराउनु, हरियाली कम हुँदै जानुजस्ता कारणले सहरको पैदल यात्रा असहज बन्दै गएको बताए । उनले सम्पदा क्षेत्रमा पैदल र साइकल मार्गमात्रै बनाउनुपर्नेमा जोड दिए । ‘ऐतिहासिक क्षेत्र राम्रो पैदलमार्ग बन्न सक्छ, यो सोच सबैले पालना गरेर अघि बढ्ने हो भने सहरमा हिँड्डुल गर्ने ठाउँहरू बन्न सक्छन्,’ उनले भने, ‘यसको लागि स्थानीय र सरकारी निकायबीच समन्वय हुनु जरुरी छ।’ उनले अहिले यो विषयलाई स्थानीय सरकारले चासोको रुपमा लिनुपर्ने बताए।
सडक सवारीसाधन गुड्नलाई मात्रै होइन, त्यसले बटुवा र साइकल यात्रीलाई पनि समेटेको हुनुपर्ने उनको भनाइ छ। ‘अरू देशमा बाटो बनाइरहेका बेला सवारीसाधन गुड्न दिइन्न, हाम्रोमा एकतिर सडक बन्दै छ, अर्कातिर गाडी हुँकिरहेका हुन्छन्,’ उनले थपे, ‘बन्दै गरेको सडकमा सवारीसाधन गुड्दा झन् प्रदूषण फैलिन्छ।’ उनले स्थानीय सडकको डिजाइन गर्न स्थानीय निकायलाई दिनुपर्ने बताए।
‘सरकारी निकायले एकोहोरो तबरले सडक विस्तार गर्दा सहरको मुहार बिग्रिएको छ,’ पुल्चोक इन्जिनियरिङका विद्यार्थी हरिष नेपालले भने, ‘कम्तीमा स्थानीय र वातावरणविद्को सुझाव लिएर काम गरेको भए अहिले काठमाडौंका सडक यति अव्यवस्थित हुँदैनथे।’ उनले सहर बनाउँदा साइकल लेन र पैदल मार्गलाई हेक्का नराखिएको बताए। ‘अरु मुलुकमा सडक बनाउँदा पहिलो प्राथमिकता बटुवा र पैदलमार्गलाई दिइन्छ, हाम्रोमा परम्परागत ढर्रामा काम भइरहेको छ, सहरको खास पक्षलाई वास्तै गरिन्न,’ उनले भने।
प्रकाशित: २ भाद्र २०७५ ०१:२९ शनिबार