७ वैशाख २०८१ शुक्रबार
समाज

सडकले उठीबास

अरुण प्रवेशमार्गको माटोले पुरेको ठगबहादुर गुरुङको धानखेत। तस्बिर : मेघराज/नागरिक

दिदिङ (संखुवासभा) - अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गबाट प्रभावित बासिन्दा क्षतिपूर्ति नपाउँदा आफ्नो थातथलोबाट विस्थापित भएका छन्। आयोजना प्रभावितले जग्गाकोे मुआब्जा पाए पनि सडक निर्माणका क्रममा भएको घरजग्गाको क्षतिपूर्ति नपाएका हुन्।

सडककै कारण धेरैले खेतीयोग्य जमिन गुमाएका छन्। सडकबाट झन्डै ३ सय मिटर तलसम्म अन्नबाली पुरिएको छ भने सडकको भित्तामा गएको पहिरोले समेत ठूलो क्षति पु-याएको छ । गत जेठ २६ गतेको वर्षाका कारण झनै ठूलो क्षति भएको स्थानीय बताउँछन्। वर्षासँगै गएको पहिरोले पाँच घरपरिवार विस्थापित भएका छन् । तीन घर र १ स्वास्थ्य चौकी उच्च जोखिममा रहेको अरुण प्रवेशमार्गका इन्जिनियर गागलबहादुर भण्डारीले बताए । विस्थापित हुनेमा चिचिला गाउँपालिका वडा नं. २ का सीता गुरुङ, कर्मा शेर्पा, नेत्रबहादुर राई, मच्छिन्द्र राई र ३ नम्बर वडाका थमानसिंह राई छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि त्रिपाल उपलब्ध गराएको थियो। तर विस्थापितलाई क्षतिपूर्ति दिइएको छैन। उनीहरुका अनुसार वडा, गाउँपालिका, जिल्ला प्रशासन, अरुण तेस्रो प्रवेशमार्ग आयोजनालाई पटकपटक क्षतिपूर्तिको माग गर्दासमेत सम्बोधन भएको छैन।

नौ सय मेगावाट क्षमताको यो परियोजना भारतीय सतलज कम्पनीले संखुवासभामा निर्माण गरिरहेको छ। परियोजना निर्माण सम्झौताअनुसार सन् २०२२ सम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ। नुमको फ्यासिन्दास्थित ड्याम साइड निर्माण, सुरुङ मार्ग निर्माण र दिदिङको पुखुवामा पावरहाउस निर्माणमा चाहिने आवश्यक सामग्री लैजान सडक निर्माणको काम भइरहेको छ। अरुण तेस्रो प्रवेश मार्गका रुपमा छ्याङ्कुटी–पुखुवा सडक निर्माण भइरहेको छ। अब पुखुवा पुग्न नौ सय मिटर मात्र रहेको आयोजनाले जनाएको छ।

विस्थापितमध्ये नेत्रबहादुर राईको घर पहिरोले बगाएको छ। उनीहरुको ५ जनाको परिवार प्रशासनले उपलब्ध गराएको त्रिपालमुनि बसेका छन्। ठूलो वर्षा हुँदा भलबाढी पसेर समस्या गराएको राईले दुःखेसो गरे। ‘जमिनको चिसोले रातमा समस्या गराउँछ भने दिनमा घामले तातेको त्रिपालमुनिको बासले पिरोल्छ’, उनले भने। उनका छोरा मानदेवले भने त्रिपाल निकै गन्हाउन थालेको बताए। उनले भने, ‘विकास त आयो तर गरिबको उठीबास पनि लायो । बस्ने ठाउँ रहेन। हामी गरिबको आवाज कसैले सुनेन।’

चिचिला ३ की मनकुमारी राईको आयोजना प्रवेशमार्गको माटोले २० मुरी धान उत्पादन हुने खेत पुरेको छ । यस्तै २ नम्बरका ठगबहादुर गुरुङको पनि खेत सडकको पहिरोले पुरेको छ । उनीहरुले सम्बन्धित निकायमा क्षतिपूर्ति माग गर्दै पटकपटक निवेदन दिएको बताए । तर कुनै पनि निकायले क्षतिपूर्तिका लागि पहल नगरेको गुरुङको गुनासो छ।

सडक निर्माणका क्रममा निर्माण व्यवसायीले समयमा नाली व्यवस्थापन नगर्दा सो सडक खण्डअन्तर्गत पर्ने खेतबारीमा करडौंको क्षति पु-याएको अरुण सरोकार मञ्चका अध्यक्ष नयन्द्र लाम्सोङ राईले बताए । उनले भने, ‘अरुण तेस्रो पावरहाउस जाने सडकखण्डको बालुवा र लेदो माटोसहितको भल बाढी खेतबारीमा पसेर करोडाैंको क्षति पु-याएको छ ।’ स्थानीय छत्रमणि काफ्लेका अनुसार सडक निर्माणका लागि १५ मिटरको मुअब्जा वितरण गरिए पनि सडक अहिले दुई सय मिटर तलसम्म क्षति पु-याएको छ । उनले भने, ‘चार मन अलैंची उत्पादन हुने बगान क्षेत्रमा सडक खनेको माटोले पुरेर सखाप पारेको छ,

यसको क्षतिपूर्ति कसले दिन्छ ?’
छ्याङ्कुटी देखि पुखुवासम्मको २८.६९ किलोमिटरमा सडकले निकै क्षति पु-याएको छ। अलैंची बगान, कोदो र धानखेती बालीमा क्षति पुगेको पीडितले बताएका छन्।

प्रकाशित: २९ श्रावण २०७५ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App