चंगाई नाला (बाँके) - सिक्टा सिँचाइ आयोजनाले प्रमाण नष्ट गर्न भत्केको मूल नहर हतारहतारमा मर्मत गरेको छ । बाँके राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित चंगाई नालानजिक साउन ७ गते भत्केको मूल नहर आयोजना कार्यालयले छानबिन टोली अनुगमनमा पुग्नुअघि नै मर्मत गरेको हो। छानबिन टोलीलाई प्रभावित पार्न र सर्वसाधारणको मुख बन्द गर्न परीक्षणका क्रममा भत्किएको १० मिटर नहर हतारहतार मर्मत गरिएको आयोजना कार्यालय स्रोतले बतायो। स्रोतका अनुसार आयोजना प्रमुख रमेश बस्नेतले हतारमा नहर मर्मत गराएका हुन्।
परीक्षणका क्रममा मूल नहर भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका छन्। मर्मतमा लागेको खर्चबारे पनि आयोजना प्रमुखले कुनै जानकारी नदिएको स्रोतको भनाइ छ। दुई वर्षअघि पनि परीक्षणका क्रममा भत्किएको मूल नहरको मर्मत ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले गरेको थियो । यसपटक भने आयोजना कार्यालय आफैंले मर्मत गरेको हो।
‘चंगाई नालामा नहर भत्केपछि हामीले मर्मत गर्न नदिने बतायौं, तर आयोजना निर्देशकले अरू ठाउँको पनि मर्मत गरिदिने प्रतिबद्धता जनाएपछि हामीलाई पनि ठिकै जस्तो लाग्यो। हामीलाई झुक्याउन पो हतारमा मर्मत गरिएको रहेछ।’ –वडाध्यक्ष महावीर ओली, राप्तीसोनारी गाउँपालिका–९
आयोजना प्रमुख बस्नेतले हतारमा मर्मत गरेर सर्वसाधारणको मुख थुन्ने प्रयास गरे पनि त्यो सम्भव नहुने स्थानीय बताउँछन् । चंगाई नालास्थित मूल नहर पर्ने राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष महावीर ओलीले हतारमा नहर मर्मत गरेर आयोजनाले जनतालाई झुक्याउन खोजे पनि त्यो सम्भव नहुने बताए। सोही गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले आयोजना कार्यालयले परीक्षणका क्रममा भत्किएको मूल नहर हतारमा मर्मत गरे पनि २४ किलोमिटरभन्दा बढी भाग जीर्ण भएकाले मर्मतको कुनै अर्थ नभएको बताइन्।
मूल नहर बनाएको ठेकेदार कम्पनी कालिकाले भने मर्मत र सुधार गर्ने म्याद गुज्रिएको भन्दै मूल नहर मर्मत र सुधार नगर्ने दाबी गर्दै आएको छ। कालिकाले मर्मत र सुधार गर्ने म्याद सकिएको भन्दै आए पनि किसानको खेतमा पानी पुग्न सकेको छैन। ५० क्युमेक्स पानी चढाउने योजना रहेको मूल नहरमा ४÷५ क्युमेक्स पानी चढाउँदा पटकपटक भत्कने गरेको छ।
उक्त आयोजना सम्पन्न नहुँदै मूल नहरको सयभन्दा बढी ठाउँमा क्षति पुगेको छ। एकदुई घन्टासम्म नहरमा पानी चढाउने हो भने मूल नहर पूरै भत्कने स्थानीय बताउँछन्। राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत निर्माणका बेला ठेकेदारले गुणस्तरहीन काम गरेकाले मूल नहर समस्यामा परेको बताउँछन् । उनले मूल नहरमा ४/५ क्युमेक्स पानीलाई एकदुई घन्टा चढाउने हो भने मूल नहर आसपासका गाउँ बग्ने खतरामा रहेको बताए।
‘छानबिन सुरु नहुँदै हतारमा मर्मत गर्नु हुँदैनथ्यो, यो त सीधै प्रमाण लुकाउने प्रयास हो,’ स्रोतले भन्यो। उक्त क्षेत्रमा घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटकपटक नहर भत्किने गरेको आयोजना कार्यालयको दाबी छ। स्थानीय बासिन्दाले भने चरम भ्रष्टाचारका कारण समस्या बल्झिरहेको बताउँछन्।
२०७३ असार १४ मा पनि ढकेरीस्थित झिझरी खोलाछेउमा मूल नहर भत्किएपछि कालिकाले रातारात मर्मत गरेको थियो। स्रोतका अनुसार त्यतिबेला मर्मत गरेको बिल भुक्तानीका लागि ठेकेदारले आयोजना कार्यालयमा पेस गरेको थियो। यद्यपि कार्यालयले त्यो बिल अझै भुक्तानी गरेको छैन।
कमसल निर्माणका कारण आयोजनाको आइसिपी–टुु ठेक्काअन्तर्गत १७.७ किमि मूल नहर सबभन्दा बढी जोखिममा छ।
आयोजनाका एक इन्जिनियरले भने क्षतिग्रस्त संरचना तत्काल नबनाएको भए झन् ठूलो क्षति पुग्न सक्ने तर्क गरेका छन्। उनले भने, ‘झट्ट हेर्दा प्रमाण नष्ट गरेको जस्तो देखिएको होला, तर हामीले थप क्षति नहोस् भनेर माटो पटान गरेका हौं।’
सिक्टाले भत्केको नहर हतारमा मर्मत गर्न खोजेपछि ढकेरीका बासिन्दाले रोक्ने प्रयास गरेका थिए। तर, आयोजना निर्देशक बस्नेतले भत्केको भाग मर्मत गर्नेबित्तिकै अन्य ठाउँमा पनि मर्मत गरिदिने आश्वासन दिएपछि स्थानीय बासिन्दा सहमत भएका थिए । राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष महावीर ओलीले आयोजना कार्यालयले प्रमाण नष्ट गर्ने उद्देश्यले हतारमा मर्मत गरेको बताए। ‘चंगाई नालामा नहर भत्केपछि हामीले मर्मत गर्न नदिने बतायौं, तर आयोजना निर्देशकले अरू ठाउँको पनि मर्मत गरिदिने प्रतिबद्धता जनाएपछि हामीलाई पनि ठिकै जस्तो लाग्यो’, उनले भने, ‘हामीलाई झुक्याउन पो हतारमा मर्मत गरिएको रहेछ।’
सिक्टाको गुणस्तर छानबिनका लागि बनेका समितिले सूक्ष्म रूपले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ। ‘सिक्टा छानबिनका लागि बनेका समितिले काठमाडौं फर्किन हतार नगरून्’, ढकेरीका श्रीधर उपाध्यायले भने, ‘छानबिन निष्पक्ष होस्, ब्यारेजदेखि पश्चिम नहरको पूरै संरचनाको अनुगमन गरियोस्।’ मर्मत सुधार अवधि पूरा नहुँदै पटकपटक नहर भत्किन थालेपछि आयोजनाले कालिकाको करिब साढे १४ करोड रुपैयाँ धरौटी रोकिदिएको जनाएको छ।
अख्तियार टोली फिल्डमा
सिक्टा सिँचाइभित्रको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सोमबार फिल्डमा पुगेको छ। आयोगले सिक्टाको मूल नहर पटकपटक भत्किएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दुईतीनअघि प्राविधिक सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको थियो।
अख्तियार प्रवक्ता रामेश्वर दंगालले छानबिन टोली फिल्डमा पुगेर काम थालिसकेको जानकारी दिए। ‘आयोग टोली छानबिनका लागि फिल्डमा पुगिसक्यो’, उनले नागरिकसँग भने, ‘टोलीले मूल नहरको सम्पूर्ण अनुगमन गर्दैछ।’ अनुगमनको प्रकृति भिन्न खालको भएको उल्लेख गर्दै दंगालले अनुसन्धान एकदमै गोप्य भइरहेको बताए।
बाँकेका सरोकारवाला एवम् स्थानीय बासिन्दाले छानबिनका लागि आइपुगेको अख्तियार टोलीले आफूहरूको पनि रायसुझाव लिनुपर्ने माग गरेका छन्। ‘अख्तियार टोलीले आफ्नो हिसाबले मात्र छानबिन गरोस्, स्थानीय बासिन्दा र सिक्टाप्रति सरोकार राखिरहेका व्यक्तिको पनि कुरा सुन्ने काम होस्’, विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भने।
कनिष्ठलाई आयोजना प्रमुख
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा सहसचिवसरहको व्यक्ति प्रमुख हुनुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयविपरीत कनिष्ठ व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिइएको छ। कनिष्ठ व्यक्ति आयोजना प्रमुख भएकै कारण आर्थिक चलखेल भएको र निर्माण कार्य पनि कमसल भएको स्रोतको भनाइ छ। तत्कालीन सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनामा सहसचिवसरहका व्यक्तिलाई जिम्मेवारी दिने निर्णय गरेका थिए। तर, वैशाखयता त्यो निर्णयविपरीत उपसचिव स्तरका रमेश बस्नेतलाई आयोजना प्रमुख बनाइएको छ। एक वर्षअघि पनि उनी नै आयोजना प्रमुख थिए।
राष्ट्रिय गौरवको सिक्टामा उपसचिवसरहका व्यक्तिलाई प्रमुख बनाइए पनि मन्त्रालय र सिँचाइ विभागमा २७ सहसचिव कार्यरत छन्। राष्ट्रिय गौरवका आयोजनामा सहसचिव स्तरका कर्मचारी रहनुपर्ने निर्णय गरेका पूर्वमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनामा राम्रो काम होस् भनेर आफूले त्यस्तो निर्णय गरेको बताए।
प्रकाशित: २९ श्रावण २०७५ ००:५८ मंगलबार