२५ श्रावण २०७७ आइतबार
समाज

भूकम्पपछि सिन्धुपाल्चोक पुनर्निर्माण : ‘सहर’ को छनक दिँदै ठडिए गाउँ–बस्ती

सिन्धुपाल्चोक– साना तथा मझौला आकारका चिटिक्क घर । रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती । 

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले सर्वाधिक क्षति पु¥याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रुप हो यो । सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिइरहेका गाउँ क्रमशः खानेपानी, शौचालय, बिजुली लगायत न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मूख बस्तीमा बदलिँदै गएका छन् । 

‘भूकम्पपछिको तीन वर्षमा पुनर्निर्माणमार्फत सिन्धुपाल्चोकको मुहारै फेरिएको छ,’ भूकम्प पीडितका आवास निर्माणको नेतृत्व गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख टंक गौतमले नागरिकसँग भने । उनका अनुसार सिंगो जिल्ला पुनर्निर्माणको मौजारो छ । अर्थात, पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ सिन्धुपाल्चोक । 

यतिबेला जिल्लामा एकसाथ साढे ७५ हजार हजारभन्दा बढी घर परिवार पुनर्निर्माणमा प्रत्यक्ष जुटिरहेको जिल्ला आयोजना प्रमुख गौतम बताउँछन् । तेस्रो किस्ता वितरणको आधारमा साढे ४४ हजार पीडित भूकम्पपछिको पुनर्निर्माण सकेर नयाँ घर सरिसकेको इकाइको तथ्यांक छ । तर आयोजना प्रमुख गौतम जिल्लामा ५० हजारभन्दा बढी घर ठडिइसकेको तर्क पेश गर्छन् ।

इकाइका अनुसार ७५ हजार ७ सय २५ पीडितले घर बनाउन दोस्रो किस्ता लगिसकेका छन् । भुँईँ तहको संरचना बनेपछि पीडितले दोस्रो किस्ता माग गर्छन् । विभिन्न प्रक्रिया पूरा भई किस्ता निकासा हुन दुई महिनासम्म समय लाग्ने गौतम बताउँछन् । ‘त्यतिञ्जेल निर्माणाधीन संरचना अन्तिम चरणमा पुगिसक्छन्,’ पुनर्निर्माण सम्पन्न घर संख्या अझै बढ्ने आधार प्रस्तुत गर्दै उनले भने । पुनर्निर्माणमा खटिने प्राविधिक अभाव हुँदा र असार मसान्तसम्म समय सीमाका कारण प्राविधिक दोस्रो किस्ता निकासापूर्वको परीक्षणमै व्यस्त हुनु पर्दा निर्माण सम्पन्न घरको एकीन तथ्यांक आउन नसेको उनी प्रस्ट्याउँछन् । 

पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म पुनर्निर्माणको चटारो छ । खेतीपातिको सिजन, बर्खाले अवरुद्ध बनाएका ग्रामीण सडक, ढुवानी समस्या, सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मूल्य वृद्धि र कालोबजारीका बाबजुद पुनर्निर्माणले तीव्रता लिइरहेको छ । साविक ७९ गाविसमध्ये अधिकांशले पुनर्निर्माणलाई मौजारोमा पु¥याएका छन् । पुनर्निर्माणमा दैनिक डेढ लाख जनशक्ति खटिइरहेको इकाइको अनुमान छ । 

इकाइका अनुसार जिल्लामा पहिलो चरणको सर्वे, गुनासो, छुट तथा पुनः सर्वेबाट पीडित लाभग्राही संख्या बढ्दै ८६ हजार ९ सय ७१ पुगेको छ । छुट र पुनः सर्वेबाट गत महिना मात्र ३ हजार लाभग्राही थपिएका हुन् । पहिलो चरण, गुनासोमार्फत सम्बोधन भएका र थपिएका लाभग्राहीसमेत अब करिब ९ हजार पीडित परिवारले मात्र पुनर्निर्माण थाल्न बाँकी रहेको तथ्यांकले देखाएको छ । 

विनासकारी भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु-याउने क्रममा ३ हजार ५ सय ७० को ज्यान लिँदै ९५ प्रतिशत घरसंरचना पूर्ण रुपमा क्षतिग्रस्त बनाएको थियो । सबै गाउँ–बस्ती खण्डहरमा बदलिँदा जिल्ला झण्डै–झण्डै संरचनाविहिनको अवस्थामा पुगेको थियो । भग्नावशेषै–भग्नावशेषका गाउँ–बस्ती, आफन्त गुमाउनुको पीडा, चौरतर्फी सत्यानास, विनास र लगातारका पराकम्पनले उत्पन्न गराएको त्रास, भोको पेटमा खुला आकाशमूनिको बास देख्दा लाग्यो सजिलै सिन्धुपाल्चोक व्यूँउतन सम्भव छैन । 

तर पीडितमा शोकलाई शक्तिमा बदल्ने जागरण पैदा हुँदा भूकम्पको तीन वर्ष र पुनर्निर्माण अभियान थालनीको दुई वर्षको छोटो समयमै सिन्धुपाल्चोक ठडिएको छ । पुनर्निर्माणलाई पीडितले साझा संकल्प बनाउँदा जिल्लाका गाउँ–बस्ती भूकम्पअघिककै पूर्ववत अवस्थामा मात्र पुगेका छैनन्, झन् राम्रा, चिटिक्क र सुन्दर भएका छन् । जिल्लाको जुनसुकै भूभागबाट नियाल्ने हो भने चारैतिर रंगिन बनेर ठडिइरहेको गाउँ, बस्ती देख्न सकिन्छ ।

भूकम्पको वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै क्षति बेहोरेको सिन्धुपाल्चोकको चौताराबाटै पुनर्निर्माण अभियानको थालनी गरेका थिए । त्यसको एक वर्षपछिसम्म पुनर्निर्माणले आशातीत गति लिन सकेको थिएन । गएको वैशाखमा स्थानीय तहले जनप्रतिनिधि पाउनुका साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण प्रक्रियालाई सरल र सहज बनाउँदै किस्ता लिने समय सीमा तोकेपछि पुनर्निर्माण अभियानकै रुप अघि बढिरहेको छ । 

अघिल्लो वर्ष असारयताको एक वर्षमा मात्र पीडितले एकसाथ ६५ हजार घरको पुनर्निर्माण थालेको इकाइको तथ्यांकले देखाएको छ । स्थानीय तहले जनप्रतिनिधि पाइरहँदा गत वषएको जेठ अन्तिमसम्म जिल्लामा १ सय ६३ घर निर्माण सम्पन्न हुँदा करिव १० हजार पीडितले मात्र पुनर्निर्माण थालेका थिए ।

इकाइ प्रमुख गौतम स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा निकै सघाउ पुगेको बताउँछन् । ‘पीडितका अनुदान किस्ता वितरण सम्वन्धि र अन्य गुनासाका चाङ बोकेर जनप्रतिनिधि आफैँ सदरमुकाम आइपुग्छन्,’ उनी भन्छन्, ‘जिल्लादेखि केन्द्रसम्म धाएर समस्याको गाँठो फुकाउँछन् ।’ चुनावी अभियानमा पुनर्निर्माणलाई नै मुख्य एजेन्डा बनाएका उनीहरुले यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । यसबीचमा बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकाका दुइटा वडा पुनर्निर्माण सम्पन्न गाउँ घोषित भइसकेका छन् । 

पुनर्निर्माणको कारण सडक, खानेपानी, शौचालय, सरसफाइ, विद्युतका क्षेत्रमासमेत ठूला काम भएका छन् । घर बनाउन पानीको जोहो गर्दा प्रत्येक जनस्तरबाट बस्तीमा खानेपानी सुविधा पुगेको छ । सरकार र संघसंस्थाको सहयोगमा ‘पम्पिङ’, ‘लिफ्टिङ’ सहित साना–ठूला दर्जनौँ खानेपानी आयोजना पुगेका छन् । त्यस्ता ठाउँका बस्तीका हरेक घरमा व्यक्तिगत धारा जडान गरिएको छ । ‘सार्वजनिक र व्यक्तिगत त्यस्ता धारा अपांग र बालबालिका मैत्रीसमेत छन्,’ भूकम्पपछि एक दर्जनभन्दा बढी खानपानी आयोजनामा काम गरेको जनहित ग्रामीण सेवाका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने । 

जिल्लाका साविक सबै गाविस भूकम्पअघि नै सडक सञ्जालले घेरिइसकेका थिए । तर टोल, बस्ती र गाउँमा सडक पुगेको थिएन । निर्माण सामग्र्री ओसार्न ट्रयाक खोलिँदा प्रत्येक टोल र बस्तीमा सडक पहूँच विस्तार भएको छ । इकाइले अन्तिम किस्ता प्राप्त गर्नका लागि अनिवार्य गरेपछि प्रत्येक घरमा शौचालय बनेको छ । पीडितले नयाँ संरचनामा बलियो ‘वायरिङ’ गरेर विद्युत लाइनलाई व्यस्थित मात्र गरेका छैनन्, चट्याङले निम्त्याउने सम्भावित दुर्घटना रोक्न ‘लाइटिङ रड’समेत प्रयोग गरेर घर र बस्तीलाई नै चट्याङमैत्री समेत बनाएका छन् । 

इकाइ प्रमुख गौतमका अनुसार अधिकांश पीडित ‘लोड वियरिङ’ संरचनामा आकर्षित देखिए । गारोले भार बोक्ने भूकम्पप्रतिरोधी यो संरचना निकै बलियो मानिन्छ । ढुंगामाटो र काठ तथा इँटा, सिमेन्ट र छड प्रयोग गरी बनाइने यस्ता घर आधुनिक र आकर्षकसमेत देखिन्छन् । धेरै ईँटा, सिमेन्टका घर बनेका छन् । कतिपय पीडितले ढुंगामाटो र काठ प्रयोग गरी घर बनाए पनि ती भूकम्पप्रतिरोधी छन् । आरसीसी संरचनाको आधुनिक घरसमेत ठूलो संख्यामा बनेको देख्न सकिन्छ । 

जिल्लामा सहरी पूर्वाधारसहित एक दर्जन एकीकृत नमूना बस्ती विकास भइरहेको छ । प्राधिकरणले तेस्रो किस्ता लिन तोकेको समयसीमा पुससम्म जिल्लाको पुनर्निर्माणले ठूलो फड्को मार्ने भूकम्पपछिदेखि नै इकाइको नेतृत्व गरेका प्रमुख गौतम बताउँछन् । ‘एक वर्षभित्र सिन्धुपाल्चोकको पुनर्निर्माण सक्ने लक्ष्य लिएर काम गरिरहेका छौँ,’ उनले भने।

प्रकाशित: २३ श्रावण २०७५ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App