७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चरिकोटमा अस्थायी संरचना हटाइँदै

चरिकोट – जिल्ला सदरमुकाम चरिकोट बजार क्षेत्रलाई व्यवस्थित बनाउन भीमेश्वर नगरपालिका कार्यालयले मापदण्ड विपरितका अस्थायी संरचना हटाउने अभियान शुरु गरेको छ।

जिल्लाको सुन्दर पर्यटकीय नगरी चरिकोटको सातदोबाटो चोकबाट पशुपतिडाँडा, बसपार्क, पाटी खोला र चरिघ्याङ जोडिने मुख्य बजार क्षेत्रलाई फुटपाथ सहित ब्यवस्थित र हरियाली बनाउन नगरपालिकाले आइतबारबाट अस्थायी संरचना हटाउन शुरु गरेको हो।

आइतबार नगरका जनप्रतिनिधिहरू आफैं सडकमा ओर्लिएर सातदोबाटोदेखि पशुपतिडाँडा सम्मका क्षेत्रमा बनाइएका अस्थायी संरचना हटाएर खाली गरे। उनीहरूले पक्की घर अगाडि नक्सा पास नगरी बनाइएका अस्थायी संरचना, फलामका भर्याङ हटाए। पक्की घर अगाडि निकालिएका टहरा, पाली, भर्याङ लगायतका संरचना हटाइएको नगरपालिका कार्यालयले जनाएको छ। यस्तै अभियान अन्र्तगत २.५ फिट चौडाई भन्दा ठुला साईन बोर्ड र जथाभावी राखिएका होर्डीङ बोर्ड समेत हटाइएको थियो।

नगरपालिकाले आफ्नो सर्टर भरीको लम्बाई हुने गरी २.५ मिटर चौडाईको साइनबोर्ड मात्र राख्न दिने नियम बनाएको छ। यस्तै बिज्ञापनका लागी होर्डीङ बोर्ड राख्न चाहने कम्पनी वा संघ संस्था साथै व्यक्तीका लागि अनिवार्य अनुमति लिनुपर्ने नियम बनाइएको छ। सोमबार नगरको टोलीले सातदोबाटो देखि पाटीखोला सम्मको क्षेत्रमा बिना स्विकृती बनाइएका अस्थायी संरचना हटाउने अभियान थालेको थियो।

नगरको वडा नम्बर ३ र ६ मा पर्ने चरिकोट बजार अब्यवस्थित निर्माणका कारण अस्तब्यस्त हुनुका साथै सवारी चाप समेत बढ्न थालेपछि नगरपालिकाले चरिकोटलाई सुन्दर र ब्यवस्थित बनाउन अभियान शुरु गरिएको ६ नम्बरका वडाध्यक्ष नविन लामाले बताए। घर अगाडिका पेटी र फुटपाथमा जथाभावी राखिने सामानहरू समेत हटाइएको उनले जानकारी दिए। 

फुटपाथ बनाईदै
वडाध्यक्ष लामाका अनुसार अस्थायी संरचना हटाएर बजार क्षेत्र खाली बनाएपछि नगरपालिकाले दोश्रो चरणमा फुटपाथ निर्माण गर्दैन। ‘बजार क्षेत्रको भुगोल जस्तो छ त्यही अनुसार निर्माण गर्ने गरी फुटपाथ बनाउदैछौं’ उनले भने, ‘डिजाईनको अन्तिम तयारीमा छौं, एक महिना भित्र फुटपाथ निर्माणका लागि टेण्डर निस्किन्छ’। 

बजार क्षेत्रमा घरहरू निर्माण गर्दा एउटै लाइनमा निर्माण हुन नसकेका कारण घरहरूको बनावट र भौगोलिक बनावट अनुसार पेटी निर्माण गर्ने नगरको तयारी छ। वडाध्यक्ष लामाका अनुसार नक्सा पास गरेर बनाइएका स्थायी संरचनालाई कुनै बाधा नपुग्ने गरी घरको बनावट अनुसारकै पेटी निर्माण हुनेछ। पेटी निर्माणका लागि नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। 

रुप फेर्दै सातदोबाटो
चरिकोट बजारको मुख्य सातदोबाटो चोक अनसपास १० मिटरको फराकिलो सडक सहित ब्यवस्थित फुटपाथ बनेको छ। सडक बिभागको लगानीमा चोकबाट पेट्रोलपम्प रोड र बसपार्क तर्फ रेलिङ सहितको फुटपाथ निर्माण र सडक बिस्तारको काम सकिएको छ। निर्माण सम्पन्न भएपछि सातदोबाटो चोकले मुहार फेरेको छ। चोकबाट दक्षिणी बस्ती तिर जाने सडकमा बृक्षारोपण गरेर हराभरा पारिएको छ।

सातदोबाटोले रुप फेरेपनि पार्किङको उचित ब्यवस्था नहुँदा चोकको सडकका दायाँबायाँ गाडी पार्किङ गरिएका कारण सांघुरो देखिएको स्थानीयले बताएका छन्। यस्तै सातदोबाटो चोकको कृषि बजारबाट मुख्य बजारको तल्लो क्षेत्र हुँदै बाँसथान जोडिने सडक समेत स्तरोन्नती गरेर ब्यवस्थित बनाइएको छ। सडक बिभागको लगानीमा स्तरोन्नती भइरहेको यो सडक वर्षातपछि कालोपत्रे गरिने डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ। 

 

प्रकाशित: २२ श्रावण २०७५ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App