२८ असार २०७७ आइतबार
समाज

साउन : पोते र मेहन्दी (भिडियो)

काठमाडौं- साउनको महिना, आउँदै गरेको तीज काठमाडौंको इन्द्रचोकको पोते बजार निकै व्यस्त छ। सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन्। साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन्।

विगत १६ वर्षदेखि काठमाडौंमा बस्दै आएकी उनी सधैंको साउन र सोमबारमा झैं बुहारीसँगै ब्रत बसेर हरियो पहिरन लगाउने गर्छिन्। ‘पहिला पहिला भर्खरैका युवतीहरुले लगाउने भएपनि अहिले अधवैँसेभन्दा बढी उमेरकाले समेत साउनमा हरियो लगाउन थालेका छन्,’, ज्ञवाली भन्छिन्।

सुदुरपश्चिमबाट बच्चाहरु भेट्न काठमाडौँ आएकी ४७ वर्षीया पुष्पा नेपाली यही आएको मौकामा तीज र साउनको लागि नौगेडी बनाउन आएकी थिइन्। पोखराकी प्रमिला थापा पनि इन्द्रचोकमा भेटिइन्। उनी त्यहाँ आफ्नो लागि पोतेमा तिलहरी भर्दै थिइन् । उनले साउन र तीजमा विदेशमा बसेका आफन्तलाई हरियो पोते उपहार पठाउने समेत गरेकी छन्। ‘मलाई बच्चा बेला देखि नै साउन र तीज एकदमै मनपर्छ’, हरियो चुरा र मेहेन्दीमा सजिएकी उनले भनिन् ‘रहर र आफ्नो संस्कृतिलाई पछ्याएको पनि हो।’

सामान्यतयाः बेला एउटा पसलमा दैनिक ५ देखि १० हजारसम्मको कारोबार हुने पोते बजारमा विषेशगरी तीज र विवाहको मौसममा भने व्यापार तीन गुणाले बढ्छ। यस्ता सिजनहरुमा इन्द्रचोकस्थित पोतेबजारमा रहेका करीव ४० ओटा पसलबाट दैनिक ३० हजार भन्दा बढिको पोते बिक्री हुने व्यापारी बताउँछन्।

युवा पुस्ताले धान्दै छन् पारिवारिक व्यवसाय

दुई वर्ष साउदी अरव बसेर नेपाल फर्किएका मुद्दिन मियाँ आफ्नो पुख्र्यौली व्यापारमा फर्के। एक आइसक्रिम कम्पनीमा काम गरिरहेका उनले घर परिवारबाट टाढा भएर अरुको देशमा काम गर्नुभन्दा आफ्नो पुस्तौँ पुस्ताले चलाएको पोतेको व्यापारमा नै सघाउने निर्णय गरे।

पहिलेदेखि नै उनलाई यही काममा रुचि थियो । साथीभाई परिवारबाट टाढा खाडी मुलुकमा केही रमाइलो थिएन। ‘मन लागेर नै यो काम गरेको हो । यहाँ १२ महिनामा नै पोतेको राम्रो व्यापार हुन्छ। तीज आउन लाग्दा व्यापार झन् बढ्छ। त्यस्तै, विवाहको लगन भन्दा महिना दिन अघि नै पोते तिलहरी बनाउने काम धेरै बढ्छ’, मियाँ भन्छन् ।

इन्द्रचोकको पोते बजारका सबैभन्दा पाका व्यापारी ७५ वर्षका सानोभाइ मुस्लिमले पछिल्लो २० वर्षमा काठमाडौँका मान्छे र जीवनशैलीमा  धेरै परिवर्तन देखेका छन्। स्वयम्भु घर भएका उनको दुई छोरा र एक छोरीका गरी सात जना नातिनातिना छन् । अहिले उनको नातीले समेत व्यापारमा सघाइरहेका छन्। काठमाडौंमा बस्ने मानिसको जनसंख्या बढेसँगै नयाँ नयाँ डिजाइनका पोते र तिलहरी लगाउनेको जमात पनि बढेको उनी बताउँछन्।

साजिद उद्दिन उनका नाति हुन् । पोते व्यवसायमा फर्किनुअघि उनले ६ वर्ष कतारमा सेल्सम्यानको काम गरे। पछि उनलाई पनि परिवारसँग बसेर काम गर्न मन लाग्यो । ‘मनको शान्ति त्यहाँ छैन । मान्छे बाध्यताले जाँदो रहेछ । अवधी पुरा गर्ने बित्तिकै म फिर्ता आए । अहिले नाती र हजुरवुवा एउटै पसलमा बसेर पोते बनाउने र बेच्ने गर्छौं’, उनी भन्छन् ।

पोतेको अर्थतन्त्र

सामान्यतयाः बेला एउटा पसलमा दैनिक ५ देखि १० हजारसम्मको कारोबार हुने पोते बजारमा विषेशगरी तीज र विवाहको मौसममा भने व्यापार तीन गुणाले बढ्छ। यस्ता सिजनहरुमा इन्द्रचोकस्थित पोतेबजारमा रहेका करीव ४० ओटा पसलबाट दैनिक ३० हजार भन्दा बढिको पोते बिक्री हुने व्यापारी बताउँछन्। विशेषगरी विवाहको सिजनमा व्यापक रुपमा बढ्ने पोतेको व्यापार त्यसपछी तीजमा नै बढ्ने गरेको बताउँछन्। तीजको समयमा महिलाहरुले आफुले लगाउन मात्र नभई अरुलाई पनि उपहार दिन पोते किन्ने गरेकाले व्यापार बढेको मुस्लिमको अनुमान छ। उनको पसलमा अहिले दैनिक २ सयभन्दा बढी ग्राहक पोते वा पोतेका लहरा खरिद गर्न आउने उनले बताए।

मेहन्दीको मौसम

साउन महिनामा व्रत बस्दै हरियो चुरा, हरियो पहिरन र मेहन्दी लगाउने परम्परा बढेको छ। हरियो पोतेको विक्रिसँगै साउनमा मेहन्दीको व्यापार पनि बढ्छ। भर्खरका किशोरीदेखि युवतीसम्म, वर्षभरि गृहस्थीमा व्यस्त हुने गृहिणीदेखि बुढेसकालमा टहलिरहेका बृद्घाहरुसम्म, सबै साउनको महिनामा हरियो चुरा र मेहन्दीमा रंगिन चाहन्छन्।

काठमाडौंका बाटा बाटामा ‘कोन’ बोकेर बस्ने र हिडिरहेका बटुवालाई ‘मेहेन्दी लाउने?’ भन्दै सोध्नेहरु प्रशस्त भेटिन्छन्। यीमध्ये केही भारतबाट त केही तराईबाट आएका छन्।

आफ्नो बुवासंग १५ वर्ष अघि नेपाल आएका शनि कुमार सिजनमा मेहन्दी लाउने काम गर्छन् भने अरुबेला कपडाको व्यापार गर्छन्।

मेहन्दी लगाउने काम उनका लागि बाध्यता मात्र होइन, रुचि पनि हो। सिजनमा उनले दैनिक १,००० देखि १,५०० सम्म कमाउँछन्।

त्यस्तै, भारतबाटै आएका चन्दन कुमार पनि अरुबेला कपडा बेच्छन र यो सिजनमा मेहन्दी लगाइदिने गर्छन्। ८ कक्षासम्म पढेर यो काममा लागेका चन्दन मेहेन्दी लाउन घरघरसम्म पनि पुग्ने गरेका छन्।

साउन महिनामा मेहन्दी लाउनेको भीड बढ्ने कारणले कतिपय भारतीय नागरिकहरु बिहारबाट नेपालसम्म आउने गरेको उनी बताउँछन्। पैसा वा अरु केही बाध्यताले पढाई छोडेर यो पेशा अंगाली परिवारको सहारा बन्नुपरेको भए पनि उनीहरु आफ्नो बाध्यताका बारेमा भने खुल्न चाहँदैनन्।

 

प्रकाशित: १४ श्रावण २०७५ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App