१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

खुल्ला ठाउँमा ओपीडी सञ्चालन गरेर सेवा दिँदै क्षेत्रीय अस्पताल कालागाउँका चिकित्सक । तस्विर : नगेन्द्र/नागरिक

सुर्खेत - १९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेका सेवा दुई दिनदेखि ठप्प छन् । स्वास्थ्य संस्थामा पुगेका विरामीहरुलाई चिकित्सकहरुले खुल्ला ठाउँमा राखेर चेकजाँच गर्ने गरेका छन् । डा. केसीले राखेका माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै बिहीबारदेखि इमरजेन्सी र रेफर भएर आएका विरामीबाहेक चेकजाँच नगर्ने चिकित्सकहरुले बताएका छन्।

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. केसीको समर्थनमा सरकारलाई दवाव दिन मंगलबारदेखि ओपीडी सेवा बन्द गरेका हौं, आएका विरामीहरुलाई खुल्ला ठाउँमा चेकजाँच गरिरहेका छौं’ नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्षसमेत रहेका वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसीले भने, ‘बिहीबारदेखि अहिले दिँदै आएको सेवा पनि ठप्प पाछौं।’

उनले यतिका दिनसम्म दुर्गम जिल्ला जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै आक्रोश पोखे । ‘डा. केसीको जीवन रक्षाका लागि सरकारलाई दवाव दिन दुई दिनदेखि ओपीडी बन्द गरेर पनि सेवा दिइरहेका थियौं’ उनले भने, ‘सरकारले डा. केसीले राखेका मागहरु अझै सम्बोधन गर्ने अवस्था नदेखिएकाले बिहीबारदेखि इमरजेन्सी र रेफर भएर आएका विरामीबाहेक अन्यको उपचार नगर्ने निर्णय गरेका छौं।’

नेपाल चिकित्सक संघ जुम्लाका अध्यक्ष डा. मंगल रावलले जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत, सबै जिल्ला अस्पताल र मातहतका स्वास्थ्य संस्थामा ओपीडी बन्द गरेर बाहिरबाट सेवा प्रदान गरिएको बताए । ‘डा. केसीका जायज माग पूरा गराउनका लागि दवाव स्वरुप कर्णालीका १० वटै जिल्लामा इमरजेन्सीबाहेकका सेवा बन्द गरे पनि आएका सेवाग्राहीलाई सेवा दिइरहेका छौं’ डा. रावलले भने, ‘अझै पनि माग पूरा गर्ने अवस्था नदेखिएकाले थप कडा आन्दोलनमा जाँदैछौं।’

उनले डा. केसी कर्णालीमा आएर आन्दोलन गरेकाले संघको केन्द्रीय कार्यक्रमसँगै प्रदेशस्तरबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । उनले राज्यको दायित्वभित्र पर्ने विषयहरु नै डा. केसीले उठान गरेको भन्दै माग पूरा गर्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे । ‘गुणस्तरीय मेडिकल शिक्षा र सेवा सबै नागरिकहरुको अधिकार हो’ उनले भने, ‘यस्ता माग पूरा नगरेर सरकार माफिया तर्फको जालोमा फसेको छ।’

 

प्रकाशित: २ श्रावण २०७५ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App