१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

छानबिनमा प्रहरी गम्भीर नभएको आरोप

बुटवल – घरमै सुतीरहेको अवस्थामा आगो लगाइएकी एक किशोरीको हत्यामा संलग्नको कारबाहीमा प्रहरी प्रशासन गम्भीर नभएको मृत्तककी आमा र मावली पक्षले आरोप लगाएका छन्।

रूपन्देहीको कञ्चन गाँउपालिका ५ पिपरीचाँपाकी १६ वर्षे किशोरी समीक्षा ठकुरीको गत असार १० गते बिहान ३ बजेतिर आफ्नै घरको सुत्ने कोठामा मट्टीतेल छर्केर हत्या भएको थियो ।

घाइते किशोरीको उपचारका क्रममा असार २० गते काठमाडौंमा मृत्यु भएको हो । मृत्तक किशोरीकी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा मृत्तकका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी र फुपुहरु मधु र अमृता विरुद्ध  शुक्रबार किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो ।मृत्तक किशोरीका मामा बोम दर्लार्मीले प्रहरीले सुरुदेखिनै घटनाका सम्बन्धमा जाहेरी दर्ता गर्न आनाकानी गरेको र किटानी जाहेरी दर्ता गरिसक्दा पनि सम्बन्धित आरोपीहरुलाइ पक्राउ गरी छानबिनमा कुनै चासो नदिएको बताए। 

दलार्मीले घटना घटेको दुई दिन पछि नै इलाका प्रहरी कार्यालय रुद्रपुर र बुटवलमा उजुरी दर्ता गर्न  गएपनि प्रहरीले जाहेरी नलिएको पनि बताए । ‘सुरुमा हाम्रो ध्यान उपचारमा गयो तैपनि मैले मेरो छोरालाइ प्रहरीमा उजुरी गर्नु भनेर पठाए रुद्रपुर इप्रकाले वास्तै नगरी फर्काइदिएछ’ ।

इलाका प्रहरी कार्यालय बुटवलमा  बहिनी माया आफै उजुरी गर्न गइन् त्यतीबेला प्रहरीले उजुरी दर्ता भयो भनेका थिए तर दर्ता गरेकै रहेनछ’ मृत्तक किशोरीका मामा दर्लामी भने ।  यता इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले मृतक किशोरीकी आमा माया थापाले मृत्तकका बुवा,हजुरआमा र दुई  फुपु विरुद्ध किटानी जाहेरी दिएको बताए ।

  प्रहरी उपरिक्षक भन्छन्  – हत्याको किटानी जाहेरी पर्दैमा नियन्त्रणमा लिइहाल्न मिल्दैन

शुक्रबारै किटानी जाहेरी परेपनि प्रहरीले आरोपीहरुलाई भने अहिले सम्म नियन्त्रणमा लिएर सोधपुछ थालेको छैन । प्रहरी निरीक्षक बस्यालले निजहरु भाग्ने स्थिती नभएकाले उनीहरुलाई प्रहरीकै नजरमा राखिएको र आज साँझ सम्म नियन्त्रणमा लिने प्रतिक्रिया दिए ।स्थानीय पिसल्याण्ड भुपुसैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत किशोरी गत कात्तिक देखि पिपरीचापामा रहेको आफना बाबुको घरमा बस्न थालेकी हुन् ।

अन्तरजातीय विवाह गरेकी माया गर्भवती भएदेखि नै श्रीमान र परिवारबाट हिंसा हुन थालेपछि किशोरीकी आमा र मृत्तक विगत १६ वर्षदेखि माइतीमा बस्दै आएका थिए । किशोरीका मामा बोम दर्लामीका अनुसार आमा सँगै मामाघरमा हुर्केकी किशोरी समीक्षाले बुझने भएपछि आफु आमाको खोसिएको हकका लागि लड्ने र बाबुले छोरी माथि गर्नु पर्ने कर्तब्य पुरा गर्नु पर्ने भन्दै आवाज उठाएकी थिइन् । केही समय बुवाको घरमा बसेर पढ्छु भन्दै गएकी भान्जीलाइ अंश दिनु पर्ने डरले परिवारले मिलेर आगो लगाएको दाबी दर्लामीले गरे।

यसअघि पनि पटक पटक भान्जी माथि परिवारले कुटपिट र गालीगलोज गर्ने गरेको र समीक्षाले प्रहरीमा उजुरी समेत दिएको दर्लामीले बताए । प्रहरीले पनि घटना हत्या प्रकृतिको भएको तर त्यसमा संलग्नका सम्बन्धमा अहिलेनै भनिहाल्न मिल्ने स्थित नभएको बताएको छ । कसैले जाहेरी दिदंैमा आरोपीलाइ पक्राउ गरिहाल्न नमिल्ने बताउदै रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने ‘हत्याको किटानी जाहेरी पर्दैमा मान्छेलाइ ल्याएर थुनिहाल्न मिल्दैन । घटनाप्रति हामी संवेदनशील छौं निष्पक्ष छानबिन हुन्छ’ ।

 

प्रकाशित: २३ असार २०७५ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App