१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं - पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो।

बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहरुलाई पाठ्यक्रम निर्माणका सम्पर्क गेपछि विज्ञ समूह झस्केको नेपाल गणित समाजका अध्यक्ष टंकनाथ धमालाले बताए। पाठ्यक्रम प्रारुप नै सार्वजनिक नगरी केन्द्रले पाठ्यक्रम निर्माणका लागि सम्पर्क गरेको धमलाले बताए। ‘हाम्रो देशको शिक्षा नीति उल्टो गतिमा वग्दै छ । गणितबिनाको विज्ञान संसारको कुनै पनि देशमा पढाइँदैन,’ उनले प्रश्न गरे, ‘जीवविज्ञानका विद्यार्थीले गणित पढ्न पाउने हुन होइनन् ? कति क्रेडिट आवरको पाठ्यक्रम बन्यो ? केही थाहा छैन?’

कक्षा १० को नतिजा प्रकाशन भएसँगै माध्यामिक तहका विद्यार्थीहरुले अझै पनि पूरानै पद्धति अनुसार विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी समूहअन्तर्गत नै विद्यार्थी भर्ना लिइरहेका छन्। पाठ्यक्रम प्रारुप एकल तरिकाबाट ल्याउन खोजिए पनि माविहरुले विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी अन्तर्गत भर्ना लिनुले सरकारी नीति अस्पष्ट भएको प्रमाणित गरेको त्रिवि, गणित केन्द्रीय विभाग प्रमुख केदारनाथ उप्रेतीले बताए । उनले गणित अनिवार्य नगरिए पनि एच्छिक गर्नु युक्तिसंगत हुने बताए। ‘विद्यार्थी फेल भए भन्दैमा विषय नै हटाइदिने ?,’ उप्रेतीको प्रश्न छ। उनले प्रारुप परीक्षण नै गर्ने हो भने पनि नयाँ र पुराना विद्यार्थीको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट नीति नआएको बताए।

‘एकातिर नयाँ पाठ्यक्रम प्रारुप परीक्षण गर्ने भन्ने अर्कोरित पाठ्यक्रम बनाउन हतारो गर्ने। यो दोहोरो चरित्र भयो,’ उप्रेतीले भने ‘विश्वविद्यालयले कस्ता विद्यार्थीलाई भर्ना लिने भन्ने समेत कँही कतै छलफल भएकै छैन । यस्तो अवस्थामा कसरी पाठ्यक्रम बनाउने?’ यस्तो अन्यौलको अवस्थामा आफू पाठ्यक्रम निर्माणमा संलग्न हुन नसक्ने उनले बताए।

जीवविज्ञान समूहबाट गणित हटाउँदा विद्यार्थीलाई चिकित्सा शिक्षा बाहेकका अन्य संकाय र विषयमा अध्ययन गर्ने बाटो बन्द भएकाले यो प्रारुप कुनै पनि अवस्थामा स्वीकार्य नहुने विज्ञहरुको धारणा छ। माध्यामिक विद्यालय सञ्चालकले समेत सरकारले पाठ्यक्रम निर्माणमा देखाएको शीघ्रतालाई आलोचना गरेका छन्। उच्च शिक्षा तथा माध्यामिक विद्यालय सञ्चालक संघ नेपाल (हिसान)का महासचिव लोकबहादुर भण्डारीले कक्षा ११ मा भर्नाको समयमा विद्यार्थीलाई अन्योलमा पार्न नहुने जनाए। ‘पाठ्यक्रम प्रारुपको टुंगो नलागेसम्म पाठ्यक्रम निर्माण गर्नु उचित होइन,’ भण्डारीले भने, ‘सरकारले पहिलोप्रारुपको विषयबस्तुबारे बृहत् छलफल गर्नुपर्छ।’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले असारसम्म पाठ्यपुस्तक लेखन कार्य सकिएर भदौदेखि परीक्षणमा जानुपर्ने भएकाले पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पारित गरेकै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपअनुसार पाठ्यक्र बनाउने काम सुरु गरिएको प्रष्ट्याए। उनले नयाँ प्रारुपले विद्यार्थीको सिकाई क्षमता बढोत्तरी गरी शैक्षिक गुणस्तर बढाउने दाबी गरे। उनले गणित र विज्ञानको समस्याको हल खोज्न जीवनोपयोगी शिक्षालाई राखिएको तर्क गरे।

‘भदौदेखि प्रारुप परीक्षणमा जानुपर्ने भएकाले परिषद्ले पारित गरेको आधारमा केही विद्यालय र विद्यार्थीमा विषयबस्तु परीक्षण गरिन्छ। त्यहाँबाट आएको फिडब्याकको आधारमा पृष्ठपोषणसहित परिमार्जन गर्दै जाने हो,’ काप्रीले नागरिकसँग भने, ‘पहिले कक्षा ११ र १२ को जस्तै पाठ्यक्रम बनाइएको छ।’ उनले थपे, ‘जीवनोपयोगी नयाँ थपियो र नेपाल अध्ययनलाई समाजिक अध्ययन मात्र बनाइएको छ।’

प्रकाशित: १८ असार २०७५ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App