१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लापरबाही गर्ने ठेकेदारमाथि निगरानी बढाइयो

इटहरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ।

प्रशासन कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी भण्टाबारी र हरिपुरमा पुल निर्माण गर्ने ठेकेदार विकासकुमार झालाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको छ । उनलाई पक्राउ गर्न सिरहा प्रहरीलाई पत्रचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । ‘सुरुमा झालाई पक्राउ गर्न सप्तरी प्रहरीलाई पत्रचार गरे पनि त्यहाँ फेला पर्न नसकेपछि सिरहा प्रहरीलाई पत्राचार गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म उनलाई पक्राउ भने गर्न सकिएको छैन ।’

२०६५ भदौ २ गते सप्तकोसी नदी पूर्वी तटबन्ध भत्काँउदै धार परिवर्तन गर्दा क्षति पुगेको भण्टाबारी र हरिपुरमा निर्माण थालिएको पुल २०७२ चैत ६ गते नै पूरा हुनुपर्नेमा भण्टाबारीको ३३ प्रतिशत र हरिपुरको नौ प्रतिशतमात्र काम पूरा भएको छ।

जिल्ला प्रशासनका अनुसार काममा लापरबाही गर्ने ठेकेदारलाई निगरानीमा राखिएको छ भने निर्माण कम्पनीसँग सम्बन्धित विवरण गृह मन्त्रालयमा पठाइउको छ । धरानको सेउती खोला पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी हिराचन-कार्की बन्धु र सडक बक्स तथा कल्भर्ट निर्माणको जिम्मा लिएको कम्पनी मृत संजीवनी-एचएम बिल्र्डस जेभीको काम सुस्त बनेपछि त्यसबारेमा गृहलाई जानकारी गराइएको छ ।

यस्तै मैनावती स्टिल इन्डस्ट्रिज प्रालिले जिम्मा लिएको स्टिल फेब्रिकेसन सप्लाई मोजा खोला, स्टिल फेब्रिकेसन ज्वाला खोला र स्टिल फेब्रिकेसन देवीथान खोलाको काम सुरु हुनै नसकेपछि ठेकेदार कम्पनीको सूची मन्त्रालयमा पठाइएको छ । प्रशासन कार्यालयले इटहरी वडा नं. ३ को खोर्सानेखाप शेरा खोला झोलुङे पुलको जिम्मा लिएको झोलुङे पुल निर्माण इटहरी, बबिया ढिक झोलुङे पुल निर्माण कम्पनी झोलुङे पुल निर्माण बबिया र जोर सखुवा झोलुङे पुल निर्माणको जिम्मा लिने कम्पनी झोलुङे पुल निर्माण धरानले काम पूरा गरेको छैन ।

यी तीनैवटा झोलुङे पुल निर्माण कम्पनीले ६०–६० प्रतिशत मात्र काम पूरा गरेका छन् ।यस्तै धरानको वडा नं. १२ को कार्यालय भवन निर्माणको जिम्मा लिएको भूमि ओम पञ्चकन्या जेभी, धरानकै जनपथ लाइन ढल निर्माणको ठेक्का लिएको साह निर्माण सेवा, विजयपुरको पथ ढल निर्माण गर्ने निसान श्याम जेभी र धरान उपमहानगरपालिकाको सडक, ढल निर्माणको जिम्मा लिएको देव एन्ड सायर÷भूमि जेभीको काम पनि सन्तोषजनक छैन । धरानको सडक र ढलको काम त ८० प्रतिशत पुर्याएर काम नै रोकिएको छ ।

ठेकेदार निगरानी गर्ने क्रममा चिमडी हेल्थपोष्टको भवन निर्माण, राजगञ्ज सिनुवारीको हेल्थपोष्ट निर्माण र जिल्ला हुलाक कार्यालय धरानको भवन निर्माण पनि सुस्त गतिमा भइरहेको पाइएको छ ।यसैबीच सुनसरी–मोरङमा सञ्चालित पुलमध्ये छवटा पुल निर्माणको अवधि सकिएको छ । असार मसान्तभित्रमा छवटा पुलको समयावधि सकिँदैछ । सुनसरी–मोरङ पुल निर्माण आयोजना इटहरीले अहिले ३१ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । तीमध्ये समयावधि सकिएर यसै वर्ष पूरा हुनुपर्ने छवटा छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App