७ वैशाख २०८१ शुक्रबार
समाज

एनजिओ र आईएनजिओमाथि कडाई, क्षेत्राधिकार कटौती

ताप्लेजुङ– सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको खुल्ला क्षेत्राधिकार कटौती गर्दै सञ्चालन, दर्ता र नवीकरणमा कडाई गरेको छ। 

सरकारको पछिल्लो निर्देशन अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गर्ने एकमात्र बिशिष्ट उद्देश्य रोज्न पाउने भएका छन्। यसअघि कार्यक्षेत्रमा विविध उद्देश्य उल्लेख गरेर काम गर्दै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले अब बिधानमै एउटा मात्र कार्यक्षेत्र उल्लेख गर्नुपर्ने छ। ‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार संस्था दर्ता नवीकरणका लागि १५ दिनको समय दिइएको छ’, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने। 

१५ दिनको समयावधिभित्र दर्ता नवीकरण नभएका संस्थाको दर्ता स्वतः खारेज गर्ने गृह मन्त्रालयको निर्देशन रहेकोले सोही अनुसार कार्य अघि बढाइएको प्रजिअ जिसीले जानकारी दिए। उनका अनुसार अब उप्रान्त दर्ता हुन आएका संस्थालाई एकभन्दा बढी क्षेत्रमा काम गर्न नपाउने गरी बिधानमै एकमात्र बिशिष्ट कार्यक्षेत्र उल्लेख गरी स्वीकृति दिइने छ। यसअघि दर्ता भई नवीकरणको क्रममा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नविकरणका क्रममा संस्थाका पदाधिकारी तथा कार्यरत कर्मचारीको सम्पति विवरण समेत अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ। 

सरकारको पछिल्लो निर्णय देशैभरका सरकारी तथा गैर सरकारी संस्थाहरुमा एकसाथ लागुभएको सिडिओ जिसीले बताए। यसअघि कार्यक्षेत्रमा विविध उदेश्य खुलाएका संस्थाको बिधान अब उप्रान्त संशोधन हुने भएको छ। नवीकरण तथा क्रियाशीलतामा लैजाने संस्थाले दर्ता नवीकरण पूर्व यसअघि कायम रहेको बिधानमा उल्लेखित बिबिध कार्यक्षेत्र कटौती गरी एकमात्र उद्देश्य राखेर पुनः नवीकरणको प्रक्रियामा लैजानुपर्नेछ। अब उप्रान्त गैरसरकारी संस्थाको नवीकरणका लागि कम्तिमा चौमासिक रुपमा प्रतिबेदन बुझाएको हुनुपर्ने व्यवस्था रहेको छ।

ताप्लेजुङमा ४ सय ९६ संस्था दर्ता भएकोमा १ सय १७ वटा संस्थाले मात्र दर्ता नवीकरण गरेका छन्। बाँकी ३ सय ७९ संस्थाको नवीकरण प्रक्रिया बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गएको जेठ २५ गते मन्त्रीस्तरीय तवरबाट भएको निर्णय कार्यान्वयनका लागि सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिसकेको छ। 

प्रकाशित: ३० जेष्ठ २०७५ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App