१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पताल भवनमै भट्टी !

गोरखास्थित प्रस्तावित लायन्स आँखा अस्पतालको भवन। यहाँमाथि अस्पताल छ भने तल मदिरा बिक्री गर्ने होटल छ । तस्बिर: नरहरि/नागरिक

गोरखा– अस्पताल भवनबाटै मदिरा बिक्री हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला। बिक्री मात्रै होइन, त्यहाँ बसेर ‘लोकल’ रक्सीसमेत ढुक्कले खान पाइन्छ। यो सुविधा गोरखास्थित प्रस्तावित लायन्स आँखा अस्पतालको भवनमा छ।

अस्पतालको भवन चारतले छ। पहिलो तल्लामा सडकतर्फ फर्किएका पाँचवटा सटर छन्। ती पाँच सटरमध्ये एउटामा ब्युटी पार्लर छ भने चारवटामा होटल छन्। दुईवटा होटल (भट्टी) को ¥याक भरी बियर, रक्सी छ। सोकेसले छेल पारेर ‘लोकल’ मदिरा जर्किन र बोतलमा राखिएको छ। साँझपख त्यहाँका होटलमा मदिरा पिउने बाक्लै देखिन्छन्। साँझ अबेरसम्म होटल खुलिरहेको हुन्छ भने मदिराको तालमा रम्नेहरू गफिरहेका हुन्छन्। अस्पतालको भवनबाट मदिरा बिक्री हुने, राति अबेरसम्म होहल्ला गर्दा स्थानीयलाई समेत निको लागेको छैन। तर, आँखा अस्पतालले भाडाबापत आउने पैसाका लागि यसतर्फ चासो दिएको छैन।

करिब सय मिटर वरपर मदिरा बिक्री गर्न नपाउने नियम भए पनि गोरखाका मेडिकल र अस्पताल छेउमा रक्सी व्यापार हुने गरेको छ ।

‘माथि बिरामीको उपचार, तल मदिरा व्यापार’ एक स्थानीयले भने ‘देख्दा र भन्दा पनि लाजमर्दो भएको छ।’ अहिले आँखा अस्पतालले मासिक ३० हजार पाँच सय रुपैयाँ भाडा लिने गर्छ। होटल राख्नेहरू मात्रै भाडाका लागि आएकाले अन्य व्यापार व्यवसाय गर्नेहरू नआउँदा समस्या भएको अस्पतालका कर्मचारी बताउँछन्। आँखा अस्पताल गोरखा अस्पतालसँग जोडिएको छ। अस्पताल हातावरपर मदिरा खान त के बिक्री गर्नसमेत नपाइने नियम छ।

खुल्ला ठाउँमा चुरोट पिउन नपाउने, अस्पताल हाताभित्र मदिरा, चुरोट, खैनी, सुर्तीजस्ता पदार्थ प्रयोग गर्न पाइँदैन। जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नसक्छ। तर, यहाँ एउटा अस्पताल जस्तो संवेदनशील ठाउँमा बिरामीको छेवैबाट मदिरा बेचिन्छ। गोरखा अस्पताल आसपासका होटलमा पनि निर्बाध मदिरा बिक्री हुने गरेको छ। प्रशासनले यसतर्फ अहिलेसम्म अनुगमन गरेको छैन। दशैं तिहारमा मात्रै अनुगमन गर्ने प्रवृत्तिले व्यवसायीले अटेर गर्ने गरेका छन्।
आँखा अस्पतालले सेवा त्यहाँबाट सुरु गरेको झन्डै पाँच वर्ष पुग्यो। टाढैबाट ठूलो अक्षरमा आँखा अस्पताल लेखिएको देखिन्छ। नजिकै पुगेपछि पहिले रक्सी बेच्ने होटल देखिन्छ। झट्ट हेर्दा जो कोहीलाई पनि त्यो सहज लाग्दैन। होटललाई भाडामा दिएकै कारण अस्पतालको हाता निकै फोहोर  र दुर्गन्धित छ। छेवैबाट नाला बगेको छ। अस्पतालको पार्किङसमेत छैन। अस्पताल भने भएको घरभाडामा लगाएर बसेको छ। आँखा अस्पताल भएको जग्गा गोरखा अस्पतालको हो।

भवन निर्माणका लागि भोगचलन गर्न मात्रै लायन्स क्ल अफ गोरखालाई दिएको अस्पताल विकास समितिले जनाएको छ। जिल्ला समन्वय समिति, स्थानीय व्यक्ति, समाजसेवीको सहयोगसहित करिब ९२ लाख रुपैयाँमा लायन्स क्लबले भवन निर्माण गरेको हो। भवन निर्माण भएसँगै आँखाका बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ। दैनिक २० देखि ३५ जनासम्मले अस्पतालबाट सेवा लिएका छन्। गोरखामा पहिले आँखा अस्पताल निर्माण गरेर सेवा दिँदै आएका लायन्स क्लब अफ गोरखाले अस्पताल भवनबाटै मदिरा बिक्री हुँदा हटाउन बेवास्था गर्दा चौतर्फी आलोचना बढेको छ। लायन्स क्लबका अध्यक्ष अंजितकुमार श्रेष्ठले नागरिकन्यूज सँग भने, ‘यसअघि भाडामा लगाउँदा नियम बनाएर सम्झौता गर्नुपर्ने थियो, भएको रहेनछ, अब छिट्टै हटाउने तयारीमा छौं।’ बैठकमा पटक–पटक कुरा उठ्ने गरेको भए पनि हटाउन भने सकेको छैन।

आँखा अस्पतालको घरैबाट मदिरा बिक्री भएजस्तै हाता वरपरबाट भने यहाँ सबै मेडिकल र अस्पताल छेउमा रक्सी व्यापार हुने ठाउँ छ। करिब सय मिटरवरपर मदिरा बिक्री गर्न नपाउने नियम छ। तर गोरखा अस्पतालदेखि यहाँ रहेका निजी मेडिकल, क्लिनिक अस्पतालछेउबाटै मदिरा बिक्री मात्रै होइन, पिउने होटलसमेत सञ्चालनमा छ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App