१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरण : सरकारले चीनसँग माग्यो सहयोग

काठमाडौं– सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भइरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो।

मंगलबार चिनियाँ राजदूत यु होङसँगको भेटमा गृहमन्त्री रामबहादुर थापाले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका छन्। 

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएको गृह मन्त्रालयले जनाएको छ।

साढें ३३ किलो सुन तस्करी प्रकरणमा सरकारले छानविन समिति बनाएर सुक्ष्म अनुसन्धान गरिरहेको छ। यसमा सुरक्षा अधिकारी समेत संलग्न पाइएको छ। यही बेला गृहमन्त्री थापाले सुन तस्करीलाई नियन्त्रण गर्न चीनसँग आवश्यक सहयोग मागेका हुन्। 

गृहमन्त्रीलाई बधाई सन्देश 

गृह मन्त्रालयमा भएको भेटमा राजदूत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश मन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन्।

त्यसअवसरमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि आग्रह गरे। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै उनले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरे।

राजदूत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भुमिका प्रशंसनीय रहेको यसलाई थप प्रभावकारी बनाउन आग्रह गरिन। नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।

गृहमन्त्रीको रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायतका पछिल्ला कामहरु आफुहरुले नियालिरहेको भन्दै ति काम प्रशंसनीय रहेको राजदूत होङको भनाई थियो।

भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७५ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App