८ वैशाख २०८१ शनिबार
समाज

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

गाउँलेले मिलेर निर्माण गरेको रुपातोला–खौला सडक खण्ड जोड्न सेती नदीको धौलाबगरमा बनाइएको काठे पुलमा गुड्दै गरेको जिप ।तस्विर : जगत/ नागरिक

बझाङ - तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

‘सडकका लागि जमिन कटान गर्न थालेको ४ वर्ष भएको थियो । गाउँलेले श्रमदान र चन्दा दिएकै थिए । तर गाउँपालिकाबाट सहयोग पाइएन । धैरै वर्ष भयो अब त जसरी पनि काम फत्ते गर्नुपर्छ भनेर सक्नेले श्रीमतीका गहना पनि बेचेर सडक बनाउन पैसा दियौं,’ तलकोट–५ का अम्मरराज जोशीले भने । उनले पनि श्रीमतीले नाक, कान र घाँटीमा लगाएका दुई तोलाजति सुनका गहना बेचेर सडक निर्माणमा सहयोग गरेको बताए । उनीजस्तै सक्नेजति अन्यले पनि यसरी नै गहना बेचेर सडक बनाउन खर्चिएका हुन्।

जोशीले भने, ‘वषौंदेखि बजारबाट घरमा नुनदेखि खाद्यान सबै पिठ्युँमा बोकर खानुपथ्र्यो । यो दुःख हटाउन र घरआँगनबाटै गाडी चढेर सदरमुकाम चैनपुर पुग्ने रहर पूरा गर्न हामीले आफ्नै पहलमा रुपातोलादेखि खौलासम्म ६ किलोमिटर सडक निर्माण गरेका हौं । अहिले सडकमा जिप पनि गुड्छ । ‘सिंहदरबारको अधिकार गाउँमा’ भन्थे तर ‘गाउँको सिंहदरबार’ ले जनताको विकासमा चासो दिएको छैन ।’

स्थानीय राम भण्डारीले देशमा धेरै सरकार फेरिए, चुनावमा धेरै नेताका चिल्ला भाषण पनि सुनिए, गाउँमा सिंहदरबार आयोभन्दा दंग पनि परियो तर आफूहरूको पिठ्युँमा भारी छुटाउन कसैले पनि पहल नगेरपछि गाउँलेले चन्दा संकलन, श्रमदान, गहना बिक्री र जग्गा बन्धकी राखेर सडक खनी घरआँगनमा गाडी पुर्याएको बताए । उनले भने, ‘गाउँका धेरैले सडक निर्माण गर्न चन्दा दिए, सुनका गहना बिक्री गरे, गरीखाने खेत बिक्री र डिक बन्धकी राखे, विदेश गएकाले उतैबाट पैसा पठाइदिए, कति चन्दा दिन नसकेर आफैं सडक खन्न जुटे ।

निकै दुःख गरे गाउँमा सडक र गाडी पु¥याउन सफल भइयो । गाउँपालिकामा जनप्रतिनिधि आएपछि हाम्रो पीडा बुझ्लान्, सहयोग गर्लान् भनेको त झन् सुनेको नसुने झै गरे । धेरैपटक लिखित–मौखिक निवेदन गर्दा पनि सुनुवाइ भएन । कहाँ गयो गाउँको सिंहदरबार ?’
सडक निमार्ण समतिका सचिव रगुवीर सिंहका अनुसार अहिलेसम्म ७५ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये २० लाख गाउँलेबाट संकलन भएको हो, १८ लाख साबिक धमेना र तलकोट गाविसले एक वर्षअघि सहयोग दिएका हुन् । बाँकी रकम तिर्न बाँकी छ । ३७ लाख रुपैयाँ एक्साभेटरलाई दिन बाँकी छ ।

एक्साभेटरसँग समतिले कपाली तमसुक गरेको छ । उनले पनि गाउँपालिकामा जननिर्वाचित प्रतिनिधि आएपछि धेरैपटक सहयोग लिखित–मौखिक निवेदन गर्दा पनि सहयोग नपाएको गुनासो गरे । उनले भने, ‘सहयोग पाइन्छ कि भन्ने आशमा गाउँपालिका अध्यक्षबाट एक साताअघि सडक उद्घाटन पनि गराइयो तर काम लागेन । अहिले यही सडकमा गाडी चढेर सदरमुकाम चैनपुर र अन्य ठाउँ पुग्छन् जनप्रतिनिधि । गाउँपालिकामा २२ करोड रुपैयाँ माथिबाट आएको थियो । त्यो कहाँ खर्च गरे थाहा भएन । हामीलाई भने कसैले सहयोग गरेनन् । सडक निर्माणमा लागेको खर्च तिर्न बाँकी छ । तिर्ने पैसा छैन । भएको सम्पत्ति पनि बेचेर विदेशिने अवस्था आइलोगेको छ ।’

तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर बिष्टले गाउँपालिकाभित्रका सबै गाउँ सडक सञ्जालले जोड्ने तयारीमा आफू रहेको तर गाउँलेले सडक बनाउन व्यक्तिगत पैसा किन खर्च गरे भन्नेबारे थाहा नभएको बताए । उनले भने, ‘यो आवमा सहयोग गर्न सकिएन । अर्को आवमा सहयोग गर्ने सोच बनाएको छु । जेहोस् गाउँलेको लगानीमा बनेको सडकमा गाडी चढन पाउँदा निकै खुसी लागेको छ।’
 

 

प्रकाशित: १९ जेष्ठ २०७५ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App