१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

काठमाडौँ – गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यहि वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो। बानियाँटारबाट सामाखुशी जान लागेकी  सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर गइन्। ‘माइक्रोबस कम भएपछि खुट्टा हाल्ने ठाउँसमेत नभएपछि म हिँडेर आएको हुँ,’ उनले भनिन्।

यसैगरी सामाखुशीबाट रत्नपार्क जान लागेका रोहित ढकाल सवारी नपाएपछि तनावमा देखिन्थे। ‘बस चढ्नका लागि ठाउँ नै छैन कसरी जाने’, उनले प्रश्न गरे। यी केवल प्रतिनिधि पात्र मात्र हुन्। उनीहरुजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा परेका छन्। गँगबुँ, गल्कोपाखा, लैनचौर भएर रत्नापार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन्।

सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउछन्। ‘नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो?’, उनले प्रश्न गरे।

निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनी ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गर्छन्।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायातले विभागमा निवेदन दिएको बताउँदै उक्त कारवाहीबारे कुनै निर्णय नभइसकिएको जानकारी दिए। निलम्बन फुुकुवाका लागि विभागमा छलफल भइरहेको उनको भनाइ छ।

सामाखुशी यातायातले यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ ठूला बससमेत सञ्चालन गर्न लागेको छ। प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गँगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको छ।

सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापति सात करोडको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिए। ‘सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ’, उनले भने।

सोही मार्गमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु एक करोड ९० लाख अनुदान दिएको छ। बस जेठभित्र नेपाल आउने र सञ्चालन भइसक्ने उनको भनाइ थियो।

सोही मार्गमा ठूला बस सञ्चालन भएसँगै गँगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन्। सरकारले पछिल्लो समय काठमाडौं उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी मार्ग निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी मार्गमा ठूला तथा टर्सरी मार्गमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ। (अच्युत रेग्मी/रासस)

प्रकाशित: २९ वैशाख २०७५ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App