१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङका ६ स्थानीय तहका ३४ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका चौँरीहरूमा लम्पी स्किन संक्रमणबारे नमूना संकलन गरिँदै। तस्बिरः नागरिक

ताप्लेजुङमा नौ मध्ये ६ स्थानीय तहका पशुचौपायाहरूमा लम्पी स्किनको संक्रमण देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुबस्तुमा लम्पी स्किनको संक्रमण पुष्टी भएको हो। अहिलेसम्म मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा पशुबस्तुमा लम्पी स्किनको संक्रमण देखा परेको छैन। यसबाहेक सिदिङ्वा गाउँपालिकाका २ पशुबस्तु, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका २, फुङलिङका ७ र आठराई त्रिबेणीका ८ पशुबस्तुमा लम्पी स्किनको संक्रमण पुष्टी भएको उनले जानकारी दिए।

प्रमुख डाक्टर दाहालका अनुसार सुरुमा फुङलिङ नगरपालिकाको वडा नं १० फुरुम्बु र वडा नं ७ र ८ दोखुको लम्पी स्किन सम्बन्धी संक्रमणका लक्षण देखिएका थिए। देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६ स्थानीय तहका ३४ पशुबस्तुमा लम्पी स्किन संक्रमण पुष्टी भएको उनले बताए।

उनका अनुसार सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत जहाँ लम्पी स्किनको संक्रमण भेटिएको छ, त्यसलाई त्यही सीमित गरी थप बढ्न नदिने गरी रोकथामका रणनीति अख्तियार गरिएको छ।

अहिलेसम्म ४ हजार ७ सय ५० डोज लम्पी स्किनको संक्रमणविरुद्धको खोप प्रदान भइसकेको समेत डाक्टर दाहालले जानकारी दिए।

प्रकाशित: २२ असार २०८२ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App