लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, टुनिखर्कमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।
बेंसीशहर-मनाङ सडक खण्डमा सिमेन्ट बोकेर नाइचेतर्फ जाँदै गरेको ग २ ख ५७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार घाइते हुनेमा ट्रक चालक चितवन भरतपुर महानगरपालिका-२९ का करिब ४० वर्षीय सुक बहादुर गुरुङ र ट्रक साहु म्याग्दीको महुवाफाँट गाउँपालिका-७ का ३८ वर्षीय भगवान पाइजा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनालगत्तै स्थानीय र प्रहरीको टोली उद्धारमा खटिएको थियो। घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल, लमजुङ पठाइएको छ।
ट्रक घटनास्थलमै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, दुर्घटनाका कारण बेंसीसहर-मनाङ सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरी निरीक्षक साहले बताए।
प्रकाशित: २१ असार २०८२ १४:३४ शनिबार