४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आँधीखोलाका जलचर मरे

संकलन गरिएका मरेका माछा देखाउँदै बालकहरू । तस्बिर:मोहन/नागरिक

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका–११ र ७ को सीमामा पर्ने आँधीखोला नदीका जलचर मरेका छन् । शनिबार बिहान एक्कासि आँधीखोला किनारामा मरेका माछा भेटिएपछि स्थानीय प्रशासनले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

अनुसन्धानको क्रमका खिलुङ कालिका एग्रो फर्मबाट निस्कने सुलीलाई सीधै आँधीखोलामा फालिएको भेटिएको छ । सुलीकै कारण जलचर मरेको हुन सक्ने भन्दै खिलुङ कालिका एग्रो फर्मका कार्यकारी प्रमुख शोभाकान्त ढकालसहित स्काभेटर र चालकलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।

करिब दुई लाख माछाका भुरा, एक लाख माछा, कछुवा, पानीहाँस, बकुल्ला, आँधीखोलाको माछा र पानी खाएका चरासमेत मरेको आशंका गरिएको छ ।

सुलीकै कारण करिब दुई लाख माछाका भुरा,एक लाख माछा, कछुवा, पानीहाँस, बकुल्ला, आँधीखोलाको माछा र पानी खाएका चरासमेत मरेको आशंका गरिएको छ ।

भिरकोट नगरपालिका–६ मा सञ्चालित एग्रो फर्मबाट निस्कने सुली व्यवस्थापनका लागि गल्याङ नगरपालिका–७ को आँधीखोला किनारामा दुईवटा पोखरी बनाएको छ । पोखरी र आँधीखोलाको दूरी करिब ३० मिटर पर्दछ । जग्गाधनी र स्थानीय बासिन्दाले सुलीअन्यत्र सार्न पटकपटक आग्रह गरेपनि फर्मले बेवास्ता गरेको थियो ।

जग्गाधनीले सुली व्यवस्थापनमा ताकेता गरेपछि रातको समयमा सुलीलाई आँधीखोलामा मिसाइएको स्थानीय खुम बरालले बताए । बरालले भने, ‘हामीले पटक–पटक सुली व्यवस्थापन गर्न आग्रह ग¥यौं, तर बेवास्ता गरेरै टारे ।’
मरेको माछालाई गल्याङ–७ र ११ का स्थानीयले खानका लागि घर लगेका छन् । माछा संकलनका लागि शनिबार बिहानैदेखि आँधीखोलामा स्थानीयको भीड लागेको थियो । वडा प्रहरी कार्यालयको टोलीलेमाछा संकलनमा रोक लगाएको थियो । गल्याङ नगरपालिका कार्यालयले मरेका माछामा विषादी हुन सक्ने भन्दै माछा खान र संकलनमा रोक लगाएको हो ।

आँधीखोला जलविद्युत आयोजना गल्याङ ड्यामका कर्मचारी तिलबहादुर थापाले सुलीकै कारण माछालगायत अन्य जलचर मरेको बताए । सुलीको गन्ध कम गर्न विषादी प्रयोग गरिएको हुन सक्ने उनले बताए । ‘बिहानदेखि लाखौं माछा मरेका छन्,’ उनले भने, ‘दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले आँधीखोलामा सुली मिसाएको भन्दै खिलुङ कालिका एग्रो फर्मलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए । ‘दोषीलाई अनिवार्य कारबाही हुनुपर्छ,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण सबैको दायित्व हो ।’ कारबाहीका लागि नगरपालिकाद्वारा जाहेरी दर्ता गर्ने जानकारी दिए ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख चिनकपुर गुरुङले फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकाल, स्काभेटर चालकसहित चारजनालाई नियन्त्रणमा लिएको जानकारी दिए । ‘सुलीका कारण माछा मरेका आशंकामा केही व्यक्ति र स्काभेटर नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘गल्याङ नगरपालिकाको जाहेरी आधारमा कानुनी कारबाही अगाडि बढाउँछौं ।’

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख कोशहरि निरौलाले जलचर संरक्षण ऐन २०१७ अनुसार कानुनी कारबाही हुन सक्ने बताए । ‘जलचर संरक्षणका लागि ऐन २०१७ बलियो आधार हुन्,’ उनले भने, ‘स्थानीय सरकारले फोहोरमैला ऐन लगाएर कारबाही गर्नपनि मिल्छ,’ दोषी प्रमाणित भएका जुनसुकै अवस्थामा पनि कारबाही गर्ने उनले प्रतिबद्घता जनाए ।

जलसंरक्षण ऐन २०१७ (संशोधन २०७४ मंसिर) अनुसार हानि नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । हानि नोक्सानीको मूल्यांकन गर्दा प्राविधिक अधिकारीलाई संलग्न गराउनुपर्नेछ । स्थानीय सरकारको फोहोरमैला ऐनअनुसार कसुर हेरेर पनि कारबाही तथा जरिवाना गर्नसक्नेछ ।

प्रकाशित: २३ वैशाख २०७५ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App