अवैध रूपमा सवारी कर बढी असुल्ने तीन जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट आएका सवारी साधनबाट वीरगन्जमा बढी कर असुली गरिरहेको व्यापक जनगुनासोपछि सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफैं अनुगमनमा निस्केका थिए।
मुख्यमन्त्री सिंहको टोलीले बढी कर असुल्दै गरेको अवस्थामा पर्साको वीरगन्ज महानगरको रामगढवा निवासी २९ वर्षीय आकाश पटेल, वीरगन्ज जगन्नाथपुरका २६ वर्षीय रुपलाल सहनी र बारा फेटा गाउँपालिका ४ फुलबरियाका ४३ वर्षीय भरत प्रसाद साहलाई नियन्त्रणमा लिएको छ।
नेपालको मुख्य व्यापारिक नाकाको वीरगन्जस्थित सुख्खा बन्दरगाह हुँदै परवानीपुरसम्मको सडकखण्डमा मुख्यमन्त्री सिंहले छड्के अनुगमन गरेका थिए।
मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा अवैध रूपमा भारतीय मालबाहक सवारीसँग अनाधिकृत रूपमा कर असुल्ने तीन जनालाई रंगेहात नियन्त्रणमा लिएका छन्।
नेपाल प्रवेशका लागि भारतीय गाडीमाथि तोकिएकोभन्दा बढी कर असुली भइरहेको व्यापक जनगुनासो बढेपछि मुख्यमन्त्री सिंह गोप्य रूपमा आफैं अनुगमनमा निस्किएका थिए।
वीरगन्ज सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको विभिन्न सडकखण्डमा अस्थायी रूपमा व्यवसायीले ब्यारियर लगाएर अवैध तरिकाले बढी कर असुली गर्दै आएका थिए।
मुख्यमन्त्री सिंहले गरेको छड्के अनुगमनको क्रममा अवैध असुली गरिरहेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएका छन्। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताए।
प्रकाशित: १० असार २०८२ १२:१६ मंगलबार





