२९ असार २०८२ आइतबार
image/svg+xml
समाज

पालिकाबाट छात्रवृत्ति पाएपछि विद्यार्थी दंग

चौदण्डीगढी नगरपालिकाले सामुदायिक विद्यालय र क्याम्पस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेपछि अभिभावकलाई सहज भएको छ। नगरभित्र सञ्चालित सामुदायिक विद्यालय र सामुदायिक क्याम्पस पढ्दै गरेका छोराछोरीलाई स्थानीय सरकारले छात्रवृत्ति दिएपछि अभिभावकलाई सहज भएको हो।

नगरपालिकाले केही दिनअघि सामुदायिक विद्यालय र क्याम्पस पढ्ने एक सय पाँच छात्रछात्रालाई छात्रवृत्ति दिएको थियो। आर्थिक अभावले छोराछोरी पढाउन नसक्ने अभिभावकलाई छात्रवृत्तिले धेरै सहज बनाएको स्थानीय भुलमाया विश्वकर्माले बताइन्। छोराछोरीले नगरबाट छात्रवृत्ति पाएपछि त्यही पैसाले लुगाफाटो र खान खर्चमा समेत टेवा पुगेको उनले बताइन्।

आर्थिक अभावकै कारण छोराछोरीको पढाइ रोक्नुपर्ने मनस्थितिमा पुगेका अर्का अभिभावक कुमार परियारले पनि छात्रवृत्तिले पढाइमा निरन्तरता दिन सहयोग पुर्‍याएको बताए। उनीहरूजस्तै अन्य अभिभावक पनि छात्रवृत्ति पाउँदा दंग छन्। ११ र १२ कक्षा पढाउन पनि छात्रवृत्ति पाउने कुराले बालबालिकाको पढाइ रोक्न नपर्ने अवस्थाले उनीहरूमा खुसी छाएको हो।

खर्च अभावकै कारण नगरवासीका छोराछोरीले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले नीतिगत निर्णय गरेरै गत आर्थिक वर्षदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख कालुमान लामाले बताए। उनका अनुसार गत वर्ष जेहनदार र विपन्न वर्गलाई लक्षित गरिएको थियो भने चालु आवमा भने एकल, दलित, मुस्लिम, लोपोन्मुख विद्यार्थीलाई पनि छात्रवृत्तिको दायरामा ल्याइएको छ। शिशु कक्षादेखि स्नातक तहसम्मको पढाइमा छात्रवृत्ति दिएर पढाउने योजना नगरपालिकाले ल्याएको छ।

सामुदायिक विद्यालय र क्याम्पसप्रति जनआकर्षण जगाउन पनि छात्रवृत्ति दिन थालिएको नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले नगरवासी बालबालिकालाई सामुदायिक विद्यालय र क्याम्पसमा पढ्न उत्प्रेरित गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याइएको बताए।

राईका अनुसार विद्यार्थीलाई उनीहरूको बैंक खातामार्फत छात्रवृत्ति रकम निकासा दिइएको छ। छात्रवृत्तिवापत विद्यार्थीलाई जनही सात हजार रुपैयाँ दिइएको र क्याम्पसका विद्यार्थीलाई १२ हजारका दरले निकासा दिइएको छ। चालु वर्षदेखि ११–१२ र क्याम्पस पढ्ने एकल महिला, दलित, मुस्लिम, लोपोन्मुख जाति, जेहनदार र विपन्न पहिचान गरी छात्रवृत्ति दिन थालिएको हो। आर्थिक अभावले पढ्न चाहने विद्यार्थीको पढाइ नरोकियोस् भन्ने मुख्य उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याएको नगरपालिकाको भनाइ छ।

प्रकाशित: १० असार २०८२ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App