उदयपुरमा दुई जनप्रतिनिधिको स्थान रिक्त भएको छ। ताप्ली गाउँपालिकाका सदस्य र रौतामाई गाउँपालिकाका वडाध्यक्षको निधन भएसँगै उनीहरूको पद रिक्त हुन गएको हो।
रौतामाई २ का वडाध्यक्ष होमबहादुर खत्रीको शनिबार राति निधन भएको छ। मुटु रोगी खत्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी)मा निधन भएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए। उनका अनुसार मुटुको ३ मध्ये २ वटा भल्व रोकिएर थलिएका उनलाई गत हप्ता उपचारार्थ केएमसी भर्ना गरिएको थियो।
शुक्रबार मुटुको शल्यक्रिया गरे पनि असफल भएर निधन भएको हो। उनको शव आइतबार गृहजिल्ला ल्याएर सदगद गरिसकिएको छ। ६१ वर्षीय वडाध्यक्ष खत्रीको निधनमा गाउँपालिकाले एक दिन सार्वजनिक शोक बिदासमेत दिएको अध्यक्ष मगरले बताए।
०५४ को स्थानीय निकाय चुनावमा साविक भुट्टार गाविसमा एमालेको विद्रोही उम्मेदवार भई अध्यक्ष जितेका खत्री एमालेमै फर्केर ०७९ को स्थानीयतह निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए।
त्यस्तै ताप्ली गाउँसभा सदस्य छबिलाल जर्गा मगरको ३ दिनअघि घरमै निधन भएको छ। ताप्ली ३ का वडा सदस्य निर्वाचित ३६ वर्षीय मगर पनि मुटु रोगी भएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली कांग्रेसबाट सदस्य निर्वाचित मगर केही समयअघि मुटुको अप्रेसन गरेर नियमित औषधि सेवन गर्दै आएका थिए।
गाउँपालिका अध्य ढुङ्गराज विश्वकर्माले उनको सम्मानमा पनि गाउँपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिएको बताएका छन्।
यसअघि त्रिुयुगा नगरपालिका १२ का वडाध्यक्ष चुडाराज काफ्ले र बेलका नगरपालिका ९ का वडाध्यक्ष पदम खड्काको गत वर्ष निधन भएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित उनीहरूको रिक्त स्थानमा गत मङ्सिरमा सम्पन्न उपनिर्वाचन गरी वडाध्यक्ष चयन गरिसकिएको छ। त्रियुगा १२ मा नविन राई र बेलका ९ मा भरत घिमिरे दुवै नेकपा (माओबादी केन्द्र)बाट विजयी भएका हुन्।
प्रकाशित: ९ असार २०८२ १३:१४ सोमबार





