१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

पुरानो गढीमा राखियो जोर नाल तोप

पुरानो गढीमा प्रदर्शनमा राखिएको जोर नाल तोप । तस्विरः महेश्वर

जिल्लाको पुरानो सदरमुकाम उदयपुर गढीको पुरानो गढीमा जोर नाल तोप राखिएको छ । पर्यटन केन्द्रको रुपमा विकास गर्दै लगेको गाउँपालिकाले आकर्षणका लागि तोप राखेको जनाएको छ ।

गाउँपालिका केन्द्र उदयपुर गढीको कार्यालय भवनभन्दा १ किलोमिटर पश्चिममा रहेको पुरानो गढीलाई पर्यटन केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले जोर नाल तोप राखेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए। उनका अनुसार नेपाल सरकारले तोकेका देशभरका एक सय पर्यटकीय गन्तव्यभित्र सूचिकृत भएको उदयपुर गढीको पुरानो गढीलाई पर्यटन केन्द्र बनाउनकै लागि पुनर्संरचना गरिएको छ ।

०७४ सालमा गाउँपालिका गठन भएसँगै गाउँ मुकाम तोकिएको उदयपुर गढीको पुरानो गढी क्षेत्र तत्कालीन सेन वङ्शी राजाले शासन गरेको इतिहास छ । उदय सेन नामक राजाले शासन गरेको इतिहास र प्रमाणका आधारमा पुरानो गढीलाई पुनर्संरचना गर्दै पर्यटकीय स्थल बनाउने कामलाई अन्तिम चरणमा पु¥याइएको छ । ०७४/७५ देखि नै गाउँपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा पुरानो गढीको पुनर्संरचना थालेको थियो ।

भत्केको गढीको भग्नावशेषलाई पुनर्संरचना गरेर पहिलेको भन्दा आकर्षक र व्यवस्थित बनाइएको षटकोणाकारको गढीलाई रङ् रोगन गर्नुका साथै विभिन्न अवयवहरू थपेर पर्यटकलाई लोभ्याउने काम भइरहेको छ । वरिपरि बङ्कर, प्रवेशद्वार छेउमा उदय सेन राजाको घोड सवार सालिक, बाल उद्यान, बिश्रामस्थल, टुँडिखेल, सार्वजनिक शौचालय, फलामे भ्यु टावर र बस्ने फलैँचा तथा फलामे पिङजस्ता आकर्षणहरू त्यहाँ बनाई सकिएको छ।

बङ्रभित्र निर्मित कलात्मक गढीको बिचमा कोत खाना (हतियार राख्ने ठाउँ) र छेउमै शक्तिकी प्रतीक काली भवगतिको मन्दिर निर्माण गरिएको छ । भर्खरै ल्याइएको दुई नाल तोप मन्दिर र कोतखानाको ठिक अगाडि प्रवेश मार्गतर्फ सोझ्याएर सजाइएको छ । गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काका अनुसार यो तोप पर्यटकलाई प्रदर्शनका लागि राखिएको हो । पर्यटन आकर्षण होस् र गढीको महत्त्व दर्साउन तोप राख्ने कार्यक्रम बनाइएको उपाध्यक्ष खड्काले बताए ।

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले पुरानो गढीमा तोप राख्ने कार्यक्रम चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमबाटै पारित गरिएको हो । गएको गाउँ सभाले पर्यटकीय स्थल पुरानो गढीमा एक जोर तोप राख्न स्वीकृत कार्यक्रम अनुसार विनियोजित ४ लाख रुपैयाँबाट तोप खरिद गरी गढीमा राखेको हाकिम राईले बताए । तोपको प्रदर्शनले गढी घुम्न आउने पर्यटकलाई एउटा आकर्षण थपेको हाकिम राईको बुझाई छ ।

समुद्री सतहदेखि १ हजार १ सय ८५ मिटर उचाइमा रहेको गढी क्षेत्र स्वच्छ वातावरण, चिसो हावा र छिनछिनमा घाम लाग्ने र बादलले ढाक्ने भएकाले आकर्षक रहेको छ । बाह्रै मास चिसो मौसम र स्वच्छ वातावरण हुने यो ठाउँबाट चारैतिरको दृश्यावलोकन गर्न मिल्ने भएकाले सुन्दर दृश्य हेर्न गर्मी छल्न आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । 

प्रकाशित: ६ असार २०८२ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App