सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गरेकी छन्।
छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोलबजार नगरपालिका-१३ का स्थायी बासिन्दा महतो हाल वडा नं-४ स्थित दिनेश साहको घरमा भाडामा बस्दै आएका थिए। उनको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
छुरा प्रहारपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीको पनि गोलबजारकै लाइफ लङ अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले घटनाको पुष्टि गर्दै आक्रमणको कारण भने खुल्न बाँकी रहेको जानकारी दिए।
‘घटना भएको छ, तर के कारणले भयो भन्नेबारे विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ,’ डीएसपी पासवानले भने। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ५ असार २०८२ २१:०७ बिहीबार