निलम्बन परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारबाट पुनः आफ्नो जिम्मेवारी सम्हालेका छन्।
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि काममा फर्किएका पाण्डेले अब महानगर प्रहरी बल विगतभन्दा अझ सशक्त र परिणाममुखी भएर काम गर्ने प्रतिबद्धता जनाए।
बुधबार उच्च अदालत पाटनले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै पाण्डे बिहीबार बिहान सुनधारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
कार्यालयमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने स्पष्ट पारे। ‘कुनै पनि हालतमा अब अझ सशक्त भएर महानगर प्रहरी लाग्छ, म आफैँ पनि लाग्छु,’ उनले भने, ‘हिजोको भन्दा पनि अझ राम्रो र परिणाममुखी काम हुनेछ। केही कमीकमजोरी भएका छन् भने त्यसलाई सुधार्नुपर्छ।’
उनले आफूभन्दा माथिल्ला पदाधिकारीको विषयमा कुनै प्रतिक्रिया नदिने तर आफ्नो मातहतका कर्मचारीले पदीय मर्यादाभन्दा बाहिर गएर काम गरे कारबाही गरिने चेतावनी दिए।
‘मेरो मातहतका प्रहरी कर्मचारीको हकमा, सबैले आफ्नो काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर काम गर्न मैले भनेको छु,’ पाण्डेले भने, ‘त्योभन्दा बाहिर गएर आफ्नो पदीय मर्यादामा नबस्ने प्रहरी कर्मचारी कोही भेटिएको खण्डमा कारबाही हुनेछ।’
आफ्नो तत्कालको कार्ययोजनाबारे बोल्दै उनले वर्षायाममा हुन सक्ने सम्भावित विपद्को सामना गर्न महानगर प्रहरी तयारी अवस्थामा रहेको बताए।
‘वर्षा लाग्नुभन्दा अगाडि नै बाढी, पहिरो र डुबान जस्ता समस्याका लागि हामीले एक-दुई महिना अघिदेखि नै तयारी थालिसकेका थियौं,’ उनले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी बलसँग समन्वय गरेर तालिम र अभ्यासहरू भएका छन्। जनतालाई दुःख परेको बेलामा महानगर प्रहरी कहीँ केही नभनी खटिनेछ।’
प्रकाशित: ५ असार २०८२ १५:१३ बिहीबार