१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

‘स्याड बर्थडे’ प्रकृति, मिसिङ एभ्रिबडी !

आमाबाबुको अन्तर्मनमा हुने सन्तानप्रतिको वात्सल्यको तुलना उचित नहोला। हरेक आमाबाबुले आफ्ना सबै सन्तानप्रति उस्तै स्नेह र ममता  न्यौछाबर गर्छन्/गरेकै हुन्छन्। 

यद्यपि हरेक दम्पतीमा पहिलो सन्तान जन्मँदाको खुसीको विशिष्टता भने पक्कै अधिक हुन्छ। २१ वर्षअघि २०६१ असार ४ गते अर्थात् आजकै दिन रुपन्देहीका सुनिल लम्साल र सरिता शर्मा लम्सालको जोडीका लागि त्यस्तै ‘विशिष्ट खुसी’ ल्याएर जन्मेकी थिइन्, प्रकृति लम्साल। 

‘पहिलो सन्तान छोरी जन्मँदा घरमा लक्ष्मीको आगमन भयो भनेर धेरै खुसी थियौँ,’ आमा सरिताले भावुक हुँदै भनिन्, ‘उ हुर्कँदै जाँदा छोरी मात्र रहिन मेरो त साथी पनि भई। मेरो बेस्ट फ्रेन्ड नै उ थिई।’ 

सुनिल–सरिता दम्पतीका लागि प्रकृतिको जन्मले दिएको खुसी २० वर्ष टिक्यो। २१ औँ वर्ष चलिरहँदा पीडामा परिणत भएको छ। उनको २१ औँ जन्मदिनमा परिवार शोकमा छ। साथीहरूले प्रकृतिसँगका पुराना स्मृतिहरू कोट्याएर सम्झिरहेका छन्। शुभचिन्तकले समवेदना प्रकट गरिरहेका छन्। 

प्रकृति उनै नेपाली छोरी हुन्, जसको दुखद मृत्युले नेपाल र भारतको आत्मा हल्लिएको छ। हरेक नेपालीको स्मृतिमा उनको मृत्युको दुखद खबर बसेको छ। 

गत फागुन ४ गते भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)को होस्टेलमा प्रकृति मृत भेटिएकी थिइन्। त्यसयताको पीडाले बुबा सुनिल धन्न सम्हालिएका छन्। आमा सरितालाई अझैँ सम्हालिन गाह्रो भइरहेको छ। बुधवार छोरीको जन्मदिन चलिरहँदा उनी पटक–पटक भक्कानी रहिन्। 

ती ‘ह्याप्पी बर्थडे’, यो ‘स्याड बर्थडे’ 

आमा सरिताका अनुसार प्रकृति निकै भावुक र संवेदनशील थिइन्। उनलाई आफ्नो जन्मदिनको विशेष ख्याल रहन्थ्यो। प्रकृतिभन्दा अघि बढेर भाइ प्रयास अझ जन्मदिन बिर्सन दिँदैनथे। 

‘उस(प्रयास)ले दिदीसहित परिवारका सबैको जन्मदिन क्यालेन्डरमै संकेत गरेर राख्छ। अहिले पनि राखेकै छ,’ बुबा सुनिलले नागरिकसँग भने, ‘त्यसपछि जन्मदिनमा उनीहरूले जे भन्छन् त्यही मान्नुपर्ने। उनीहरूले नै जन्मदिन मनाउने गरेका थियौँ।’ छोराछोरीको जन्मदिन आमाबाबुका लागि पनि खुसीको दिन हुने नै भयो।  

‘घरमा केक काटेर खुसी साट्नेदेखि उनीहरू नै भनेको ठाउँ घुम्ने, कुनै रेस्टुरेन्टमा रोजाइको खानेकुरा खाने गर्थ्यौँ। त्यो भन्दा बाहेक कुनै अनावश्यक कुरा छोरी(प्रकृति)ले कहिल्यै कर गर्दिनथी,’ सुनिल सम्झन्छन्। 

अघिल्ला वर्षका जन्मदिनमा भाइ प्रयासलाई केक खुवाउँदै प्रकृति। जन्मदिनमा प्रकृतिको खुसी झल्कने अर्को तस्बिर।

आम नेपाली बालबालिका÷किशोर किशोरी जस्तै साथीहरूसँग पनि जन्मदिनमा प्रकृति खुसी नै मनाउँथिन्।  ‘हामी बेस्ट फ्रेन्ड हौँ। एक अर्काको जन्मदिनमा अधिक खुसी हुन्थ्यौँ। स्कुलमा छँदा रमाइलो हुन्थ्यो,’ सामाखुसी इङ्लिस स्कुलमा सँगै पढेकी रीति श्रेष्ठ भन्छिन्,‘पछि स्कुलबाट छुट्टिँदा पनि जन्मदिन आउँदा सकेसम्म खुसी बाँड्थ्यौँ।’ 

यस पटकको जन्मदिनमा भने प्रकृति स्वयं भौतिक रूपमा छैनन्। तर, उनीसँगका स्मृतिहरूका साथ परिवार र साथीहरूले सम्झिरहेका छन्। उनका आमाबुबाले मानव सेवा आश्रम पुगेर जन्मदिन मनाएका छन्। 

‘छोरी नरहे पनि उसको जन्मदिन मनायौँ,’ बुबा सुनिलले भने, ‘मानव सेवा आश्रम पुगेर त्यहाँ रहेका आमाबुबालाई दूध, फलफूल, बिस्कुट खुवाइदियौँ। छोरीको आत्म शान्तिका लागि प्रार्थना गर्‍यौँ।’ 

अहिले लम्साल परिवार वसुन्धराको धापासीमा बस्दै आएको छ। त्यही घरमा प्रकृतिको तस्बिरमा माल्यार्पण गरिएको छ। उनकी स्कुले साथी रीति पनि पुगेकी छन्। ‘साथीको जन्मदिनमा अंकलआन्टीसँग भेटौँ भनेर साथीहरूले योजना बनाएका थियौँ। अरू साथी आउन मिलेन, म आएकी छु,’ रीतिले नागरिकसँग भनिन्। रीति पुग्दा आफूलाई छोरी पुगेझैँ लागिरहेको प्रकृतिका बुबा सुनिलले सुनाए। 

प्रकृतिका अन्य साथीहरूले पनि उनको जन्मदिनमा फेसबुक, इन्स्टाग्राममार्फत सम्झेका छन्। जसले परिवारजनमा भावुकता थपेको छ। 

आमाबाबुको स्मृतिमा प्रकृति 

प्रकृतिको जन्मपछि सुनिल–सरिता दम्पतीलाई अर्को ‘सन्तान सुख’ प्राप्त गर्न ११ वर्ष कुर्नुपरेको थियो। त्यसपछि मात्रै उनका भाइ प्रयासको जन्म भएको थियो। यसर्थ लामो समय एक्लो सन्तान हुनुको वात्सल्य प्रकृतिले समेट्ने मौका पाइन। 

‘पहिलो सन्तानलाई उचित पालनपोषण र शिक्षादीक्षा प्रत्याभूत गरेपछि मात्र अर्को सन्तानबारे सोच्ने हाम्रो कुरा थियो,’ बुबा सुनिल भन्छन्,‘त्यसैका लागि म आठ वर्ष विदेश(युएई) बसे।’

यसरी लामो समय एक्लो सन्तान हुनुका कारण प्रकृतिसँग बाबुआमाको लगाव गहिरो रहन गयो। ‘त्यो बेला उ(प्रकृति) एक्लो सन्तान थिई, उसको बुबा विदेश हुनुहुन्थ्यो। त्यसैले पनि मेरो लगाव उसप्रति बढी गहिरो भएको हुनसक्छ,’ आमा सरिता भन्छिन्।

प्रकृतिले जीवनमा आफूसँग कुरा लुकाउँछे भन्ने कहिल्यै नलागेको आमा सरिताको बुझाइ छ। उनी सम्झिन्छन्, ‘उ सोझी र संवेदनशील थिई। कसैले केही भने मन दुखाउँथी। उसका साथी नि कम थिए। त्यसैले मसँग उसले कुनै कुरा लुकाउँदिनथी ।’  

प्रकृति भुवनेश्वरीको किट कलेजमा बि–टेक(कम्प्युटर इन्जिनियरिङको स्नातक तह)को तेस्रो वर्षमा अध्ययनरत थिइन्। त्यहाँको पढाई सकिन लागेकामा प्रकृति खुसी पनि थिइन्। 

बुबा सुनिलका अनुसार प्रकृतिको सपना राम्रो जागिर खोजेर क्यानडा जाने थियो। जुन सपनाबारे उनले आमा सरितालाई सबै सुनाएकी पनि थिइन्। 

‘उसको सपना धेरै थियो। घटनाको २०/२२ दिन अगाडि उसले आफ्नो सपना सुनाएकी थिए। वैशाखमा नेपाल आउँछु, यहीँ इन्टर्नसिप गरेर बाहिरको प्लान गर्छु  भन्थी,’ आमा सरिताले सुनाइन, ‘त्यसपछि मलाई बुबा र भाइलाई उता बोलाउने। अनि नेपाल फर्केर बुबालाई गाडी उपहार दिने भनेकी थिई।’ 

आफूले प्रकृतिलाई धेरै माया गरेर घरको काम समेत कहिल्यै नगराएको उनी बताउँछिन्। ‘उसलाई खाना पनि पकाउन आउँदैनथ्यो। पछि विदेश जाँदा आफै पकाउनुपर्छ भनेर यस पटक घर आएर पकाउन सिकाइदिनू भनेकी थिई,’ आमा सरिताले भनिन्। 

प्रकृतिको जन्मदिनमा उनका साथीहरूले फेसबुकमा व्यक्त गरेका केही स्मृतिहरू

घटना भएको दिन (फागुन ४ गते) साँझ ५ बजे उनी मृत भेटिएको खबर आएको बुबा सुनिल बताउँछन्। तर त्यो दिन २ बजेर ५७ मिनेटमा मात्रै आमा सरितासँग प्रकृतिले कुरा गरेकी थिइन। 

‘अहिले बाहिर फेस्ट(कार्यक्रम) चलिरहेको त्यहाँ जान्छु भनेर खुसी खुसी सुनिएकी थिई,’ आमा सरिताले भनिन्,‘हामीलाई आफ्नो दुःखबारे केही पनि बताएकी थिइन। उसले यो कुरा भने हामीसँग पनि लुकाएकी रहेछ।’ 

आत्महत्या दुरुत्साहनका आरोपी अद्विक श्रीवास्तवले गरिरहेको दुर्व्यवहारबारे प्रकृतिले आफूलाई जानकारी नदिएकामा आमाबाबु सुनिल–सरिताको मृतक छोरीसँग गुनासो छ। ‘उसले भनेको भए हामी सम्हाल्थ्यौँ। होस्टेल र कलेजमै पनि त्यत्रो गुनासो गरेकी रहेछ। तर हामीलाई जानकारी भएन,’ बुबा सुनिल भन्छन्,‘त्यत्ति जानकारी दिएको भए ज्यानै जाने थिएन होला। यसमा कलेजको पनि दोष उत्तिकै छ।’  

‘जन्मदिनको उपहारमा न्याय दिन सकिनँ’

प्रकृतिको मृत्युमा उनलाई न्याय उपहार दिने बुबा सुनिलको चाहना थियो। तर अहिले उनी निराश छन्। अभियुक्त श्रीवास्तव एक लाखको सामान्य धरौटीमा रिहा भइसकेका छन्। त्यसले परिवारजनमा झन् पीडा थपिएको छ। 

प्रकृतिको जन्मदिनमा परिवारजन

‘आज उसको जन्मदिन हो, आज मेरो छोरी त मसँग छैन। आज उसले न्याय पाइदिएको भए त्यही न्याय कम्तीमा उसको जन्मदिनको उपहार जस्तो मानेर चित्त बुझाउँथ्यौँ,’ बुबा सुनिलले भने, ‘हामीले दिएको, राज्यले दिएको उपहार त्यहीँ न्याय पायौँ है भन्न पाइदिएको भए हाम्रो आत्माले त शान्ति पाउँथ्यो।’ 

प्रकाशित: ४ असार २०८२ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App