२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

दुबईमा दुई तल्ले बस चलाउने शान्ति सम्मानित

दुबईको मध्यपूर्वी पर्यटन क्षेत्रकी परिचित तथा नेपाली महिलाहरू सशक्तीकरणमा योगदान पु¥याउँदै आएकी शान्ति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) मा सम्मानित भएकी छन् ।

दुबईको प्रतिष्ठित म्युजियम अफ फ्युचरमा आयोजित एक कार्यक्रमबीच बिइङ सी र गल्फ न्युजले शान्तिलाई अवार्डसहित सम्मान गरेको हो । उनी एक्सिलेन्स अवार्ड २०२५ को एक्सिलेन्स इन टुरिजम ट्रेलब्लाजर अफ दी इयर २०२५ बाट सम्मान भइन् ।

चार सयभन्दा बढी महिलाहरू मध्येबाट विभिन्न क्षेत्रमा काम गर्दै आएका ३७ जना महिला यो अवार्डबाट सम्मानित भएका हुन् । चार जना निर्णायकहरूले तीन महिनाको छनोटबाट अवार्ड प्रदान गरेको आयोजकले जनाएको छ । ‘मेरा लागि यो अवार्ड मात्र नभएर दुःख संघर्ष र आँशुको सामना गर्दै सपना पूरा भएको क्षण हो । म यो अवार्ड मेरी आमालाई समर्पण गर्छु । जसको माया र आर्शीवादबिना म यहाँसम्म आइपुग्न सक्दिनथेँ,’शान्तिले कार्यक्रममा भावुक हुँदै भनिन् ।

उनकी आमा पनि छोरीको सम्मानमा साक्षी हुन नेपालबाट दुबई पुगेकी थिइन् । उक्त कार्यक्रमको प्रमुख अतिथीसमेत रहेकी युएई अर्थ मन्त्रालयको सहयोग सेवा क्षेत्रका सहायक उपसचिव बद्रेया अल मैदूरले सम्बोधन गर्ने क्रममा भनिन् ‘यो हाम्रो लागि ठूलो गर्वको कुरा हो कि युएईमा महिलाहरूले मन्त्री पदहरूमा २९ प्रतिशत ओगटेका छन् । 

मध्य पूर्वमा सबैभन्दा उच्च मध्ये एक हो । महिलाहरूले संघीय राष्ट्रिय परिषद्को ५० प्रतिशत पनि ओगटेका छन् । युएईको सार्वजनिक क्षेत्रको कार्य बलको ६६ प्रतिशत ओगटेका छन् । जसमध्ये ३० प्रतिशतले नेतृत्व पदहरू सम्हालेका छन् ।’

उनले यी उल्लेखनीय उपलब्धिहरू युएईको दूरदर्शी नेतृत्वको प्रमाण रहेको बताइन् । महिलाहरूलाई राष्ट्रको विकासमा समान साझेदारको रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा थियो । शान्तिको उपलब्धि विश्वभरका महिलाहरूका लागि प्रेरणा भन्ने भन्दै आयोजकले शान्तिलाई सम्मान गरेको हो । उनी दुबईको मध्यपूर्वी पर्यटन क्षेत्रमा दुई तल्ले बस चलाउने महिला चालक हुन् । त्यस क्षेत्रमा शान्ति पछिल्लो दुई वर्षदेखि काम गर्दै आएकी छिन् । उनी युएईको व्यस्त सडकमा आत्मविश्वासका साथ दुई तल्ले बस चलाउने गर्छिन् ।

‘शान्ति भण्डारी चालक मात्र होइनन्, परिवर्तनको संवाहक हुन्,’ कार्यक्रमका आयोजकले भनेको छ,‘शान्ति भण्डारीको यो उपलब्धि नेपाल र विश्वभरका महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । उनीले आफ्नो बसको स्टेरिङ मात्र होइन, महिलाको सम्भावना र सपना अगाडि पनि बढाउन मद्दत गर्नेछिन् ।’

प्रकाशित: ३ असार २०८२ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App