संवैधानिक कानुन व्यवसायी मञ्चले वीरगञ्जमा न्यायाधीशमाथि भएको आक्रमणको निन्दा गरेको छ।
मञ्चले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार र अक्षम्य अपराधको संज्ञा दिँदै दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
मञ्चका अध्यक्ष अधिवक्ता ओमप्रकाश अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक आवरणमा भएको यस्तो अपराधले विधिको शासन, शान्ति सुरक्षा र स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको उल्लेख छ। ‘सभ्य समाजका न्यूनतम मानकहरू समेत भत्काउने हदसम्मको अपराध भएकाले यो अक्षम्य छ,’ विज्ञप्तिमा भनिएको छ।
मञ्चले राजनीतिक आवरणमा अपराध हुँदा राज्य संयन्त्रका साथै सम्बन्धित राजनीतिक दलले पनि दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएको छ।
‘संविधानका आधारशिला भत्काउने, कानुन हातमा लिने र न्यायपालिकाको स्वतन्त्रता समाप्त पार्ने कार्यको रोकथामका लागि राज्य र नागरिक समाजको सहकार्य हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
रौतहट बमकाण्डका मुख्य अभियुक्त एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशमाथि उनीहरूकै कार्यकक्षमा बिहीबार कालो मोसो प्रहार भएको थियो।
उच्च अदालत जनकपुरको वीरगञ्जस्थित स्थायी इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि मोसो छर्केको आरोपमा प्रहरीले ‘नेकपा बहुमतका कार्यकर्ता’ बताउने तीन जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानका ३८ वर्षीय किशोर कुँवर (अविनाश), सर्लाहीका ४३ वर्षीय पदमबहादुर मगर र सिराहा जिल्ला इन्चार्ज रहेका ४८ वर्षीय गर्भु महतो छन्।
उनीहरूले दिउँसो ४ बजेर १० मिनेटमा न्यायाधीशको कार्यकक्षमा प्रवेश गरी फैसलाको विरोधमा मोसो प्रहार गरेका थिए। घटनाको एक जनाले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) समेत गरेका थिए।
प्रकाशित: २९ जेष्ठ २०८२ २२:०४ बिहीबार