नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखेको उजुरीमा सरकारी वकिल कार्यालयले उजुरीकर्ताको नाम गोप्य राखेर मुद्दा दायर गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीविरुद्ध मुद्दा दायर गर्दा उजुरकर्ता ‘साइबर ब्युरो ५५’ राखेको हो।
सामान्यतया यस्तो उजुरीमा नाम गोप्य राखिँदैन, पीडितलाई बोलाएर छलफल समेत गराइन्छ। तर साइबर ब्युरोले उजुरीकर्ताको नाम गोप्य राखेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएपछि सोही अनुरूप मुद्दा दायर भएको हो।
जयवीर देउवाविरुद्ध फेसबुक स्ट्याटस लेखेका केसीविरुद्ध सरकारी वकिलको कार्यालयले बिहीबार (आज) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
केसीविरुद्ध विद्युतीय कारोबारअन्तर्गत अभियोग पत्र दर्ता गरिएको वकिलको कार्यालयले जनाएको छ। केसीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको आरोप लगाइएको छ।
देउवाको तर्फबाट साइबर ब्युरो ५५ ले उजुरी दिएको देखिन्छ। सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखिएको थियो। तर, केसीका परिवारले बन्दी प्रत्यक्षीकरण रिटमा हालेपछि सर्वोच्च अदालतले सुनुवाइ गर्दै उनलाई थुनामुक्त गरिदिएको थियो।
अभियोग पत्रमा केसीले फेसबुक स्ट्याटसले जाहेरीकर्ताको विरुद्धमा घृणा, द्वेष फैलाउने कार्य गरी चरित्रहत्या हुन गएको उल्लेख छ। केसीले फेसबुक स्ट्याटसमार्फत देउवाले काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा स्ट्याटस लेखेको जनाएको थिए।
तर गल्ती भएको भन्दै माफी मागेर स्ट्याटस हटाएको समेत पाइएको छ।







प्रकाशित: २९ जेष्ठ २०८२ २१:४३ बिहीबार