जुम्लाको तिला गाउँपालिकाका अध्यक्ष सवार सरकारी गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरिएको छ ।
वडा नम्बर-४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम चलिरहेका बेला बुधबार अध्यक्ष मोतिलाल रोकायले प्रयोग गर्ने गाडीमाथि अज्ञात व्यक्ति वा समूहले आक्रमण गरेको हो ।
गाउँपालिका अध्यक्ष रोकायका अनुसार, बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सहभागी हुन जाँदा गाडीलाई सुरक्षित रूपमा पार्किङ गरिएको थियो। उनले भने, “कार्यक्रम सकेर फर्किँदा गाडीको पछाडिको सिसा फुटाइएको अवस्थामा भेटियो।” गाउँपालिकाले हालै खरिद गरेको उक्त गाडीमा नम्बर प्लेटसमेत जडान गरिएको थिएन।
जिल्ला प्रहरी कार्यालय, जुम्लाले घटनाको पुष्टि गर्दै तोडफोडमा संलग्न व्यक्तिको खोजी र घटनाको उद्देश्यबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले गाउँपालिकाको स्कार्पियो गाडी तोडफोड भएको र ढुंगा प्रहारबाट सिसा फुटेको देखिएको बताए।
“कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु गरिसकेका छौं,” डीएसपी रेग्मीले भने, “घटनामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याइनेछ।”
प्रकाशित: २८ जेष्ठ २०८२ २३:०६ बुधबार





