२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

‘कागजमा विज्ञापन, खातामा पैसा’: हाकिम र पत्रकारसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारी ढुकुटीको दुरुपयोग गर्दै पत्रिकामा सूचना नै प्रकाशन नगरी नक्कली कागजातका आधारमा भुक्तानी दिएको आरोपमा रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र सहलेखापाल निलम्बनमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू र यस कार्यमा मिलेमतो गर्ने दुई पत्रकारसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादवले राज्यकोषमा हानि पुर्‍याउने नियतले नक्कली प्रक्रिया अघि बढाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले किसानका लागि स्प्रे ट्यांकी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र सहलेखापाल यादवले उक्त सूचना ‘जनसवाल दैनिक’ र ‘तराई पोस्ट दैनिक’ मा प्रकाशन भएको भनी कागजात तयार पारे र सोही आधारमा विज्ञापनबापतको रकम भुक्तानी दिए।

तर, अख्तियारले अनुसन्धानका क्रममा प्रेस काउन्सिल नेपालसँग विवरण माग्दा नगरपालिकाले दाबी गरेको मितिमा ती पत्रिकाहरूमा सूचना नै नछापिएको पुष्टि भयो। सूचना प्रकाशन नै नभई नक्कली बिलका आधारमा भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो।

अख्तियारले सरकारी रकम दुरुपयोग गर्ने कर्मचारी र त्यसमा सघाउने पत्रकार एवं प्रकाशकलाई समेत प्रतिवादी बनाएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादवमाथि समान २ लाख १२ हजार २२५ रुपैयाँ बिगो दाबी गरिएको छ।

यसैगरी, तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध पनि सोही रकम, जनसवाल दैनिकका सम्पादक रामजी बगालेविरुद्ध १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोस्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ।

मुद्दा दायर भएसँगै हाल नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत यादव र तत्कालीन सहलेखापाल स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित: २६ जेष्ठ २०८२ १९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App