बन्द भएको ६ महिनामा सुचारु भएको १४ दिनपछि उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले कर्मचारीलाई तलब दिन सफल भएको छ। ६ महिनादेखि रित्तो रहेका कर्मचारीले पुस महिनाको तलब पाएपछि सुरक्षाकर्मी र ज्यालादारीको तलब दिने तयारी भइरहेको छ।
बन्द उद्योग सुचारु गरेर दुई साता क्लिङ्कर उत्पादन गरी सिमेन्ट बिक्री थालेसँगै कर्मचारीले तलब पाएका हुन्। सिमेन्ट बिक्री भएको रकमअनुसार तलब खुवाउन एकैचोटी सम्भव नभएकाले अंग्रेजी वर्णानुक्रमअनुसार निकासा दिइएको हो, तर २२ जनाले लिन बाँकी हुँदै गत बुधबार एकाएक बैंक खाता रोकिएको थियो। यसअघि विभिन्न बैंकमा रहेका २८ वटा खाता रोक्का भएपछि जिल्ला अदालत काठमाडौंको समन्वयमा एउटा खाता सुचारु गरेर सिमेन्ट बिक्री गर्दै तलब निकासा भइरहेको थियो।
उद्योगका निमित्त महाप्रबन्धक महेश साहले लक्ष्मी सनराइज बैंकको जलजलेस्थित शाखाले एक्कासि काठमाडौं जिल्ला अदालतलाई हवाला दिँदै खाता रोक्का भएको जानकारी दिएपछि रोकिएको तलब निकासा अदालतसँगको समन्वयपछि बिहीबारदेखि सुचारु भएर बाँकी कर्मचारीले तलब पाएको बताए। खाता बन्द भएपछि कार्यरत दुई सय २० कर्मचारीमध्ये २२ जनाको तलब निकासा रोकिएकोमा शुक्रबार सबै निकासा भएको साहले बताए।
लेखा अधिकृत उद्धव घिमिरेका अनुसार कर्मचारीलाई पुस महिनाको तलबवापत ९५ लाख निकासा भइसकेको छ। अब सुरक्षाकर्मी र पछिल्लोपटक दुई साता उद्योग सुचारु हुँदा काम गर्ने मजदुरको ज्यालावापत पारिश्रमिक दिन बाँकी छ। मजदुर र सुरक्षाकर्मीको पारिश्रमिक दिन १६ लाख ५० हजार लाग्ने घिमिरेले बताए। उनीहरूको पारिश्रमिक दिएर बँचेको रकम सप्लायर्सको बक्यौता भुक्तानीमा खर्च गर्ने योजना रहेको उद्योगले जनाएको छ।
जिएम साहका अनुसार दुई साता उद्योग सञ्चालन हुँदा झन्डै सात करोड मूल्य बराबरको सिमेन्ट उत्पादन भएको छ। सिमेन्ट बिक्री जारी रहेको र शुक्रबार मात्र एक हजार आठ सय ३३ बोरा बिक्री भएको छ। अझै ७० हजार बोरा सिमेन्ट गोदाममा मौज्दात रहेको छ। यसैबीच नयाँ बजेट तथा नीति कार्यक्रम पारित भएसँगै सिमेटको भाउ समायोजन भएको छ।
नयाँ बजेटले अन्तशुल्क वृद्धिसँगै स्वतः मूल्य समायोजन भएपछि यसअघि सात सय ६३ रूपैयाँ प्रतिबोराको सिमेन्ट मूल्य सात सय ८७ रूपैयाँ पुगेको जिएम साहले बताए। उनका अनुसार यसअघि प्रतिबोरा ११ रूपैयाँ अन्तशुल्क रहेकोमा नयाँ बजेटले ३३ रूपैयाँ कायम गरेको छ।
पूर्ण सरकारी स्वामित्वको उद्योगले उत्पादन गर्ने गैंडा छाप एसियाकै गुणस्तरीय ब्रान्ड बनाइसकेको छ, तर निजी उद्योगका सिमेन्टले गैंडा बिक्री हुने बेला भाउ घटाउने र बन्द भएका बेला बढाउने गर्दा बजारीकरणमा वाधा उत्पन्न हुने गरेको छ। निजी उद्योगका मारुती, सौर्य, होङ्सी, शिवमलगायत सिमेन्टको मूल्य बजारमा आठ सय ४० रूपैयाँ कायम छ।
यसअघि गैंडा बिक्री हुन थालेपछि निजी उद्योगहरूले आठ सय ५० रूपैयाँबाट घटाएर प्रतिबोरा आठ सय १० काम गरेका थिए। त्यसपछि उयदपुरले ७ सय ९१ रूपैयाँमा बेच्दै आएको गैंडाको पनि प्रतिबोरा २८ रूपैयाँ घटाएर मूल्य समायोजन गर्दै ७ सय ६३ रूपैयाँ कायम गरेको थियो, तर अदालतको आदेशले खाता रोक्का भएर दुई दिन गैँडा बिक्री अवरुद्ध भएपछि निजी सिमेन्टको मूल्य फेरि बढाएर आठ सय ४० रूपैयाँ पुगेको हो।
‘त्यसै उद्योग थलिएको होइन, उदयपुर सिमेन्टमाथि चारैतिरबाट आक्रमण छ’, साहले दुखेसो गरे, ‘आफ्नै कर्मचारी, अदालत, निजी उद्योगहरू, विभिन्न तत्व धेरैतिरको अवरोधले यो अवस्था आएको हो।’
प्रकाशित: १८ जेष्ठ २०८२ ०९:४४ आइतबार





