महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन्। तर,त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन्।कुनै ठाउँमा प्याड नै पाइँदैन भने,कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन्। जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरूको धेरै छन्।
यसैलाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिका भित्रका महिलाहरूले घरेलु प्याड बनाउने तालिम लिएका छन्। गाउँपालिका भित्रका २,५ र ६ वडाका महिलाहरु प्याड बनाउन सक्ने भएका हुन्। स(साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उनीहरु खुसी छन्। तालिममा २० जना महिलाहरु सहभागी थिए।
स्थानीय स्रोत साधन र प्रविधिको प्रयोग गरेर प्याड बनाउन सीप सिकाइएको प्रशिक्षक हरिभक्त परियारले बताए। उनले भने,'महिलाले आफूसँग भएको नरम कपडाको महिनावारी प्याड निर्माण गरी प्रयोग गर्न सक्ने भएका छन्।'
यस्तै तातोपानी-६ कि महिला छिता कामीले घरेलु प्याड बनाउन सिक्न पाउँदा खुसी लागेको बताइन्। 'विगतमा प्याड शब्द सुनेको थिए। अहिले अब आफै उत्पादन गर्न सक्ने भए। खुसी छु, उनले भनिन्। घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुनेबारे सिकेको उनी बताउँछिन्। ‘पकेटमा रुमाल राखे जसरी लिएर हिँड्न सक्छौँ। जतिबेला जरुरी पर्छ, त्यसैबेला प्रयोग गर्न सकिन्छ,’ उनले भनिन् ।
यस्तै अर्की राममाया डाँगी तालिमबाट प्याड बनाउन सिकेपछि आफूले प्रयोग गर्ने मात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा छिन् । कपडाको प्रयोग गरी पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास उनीहरूमा देखिन्छ ।
कपडाभन्दा सुरक्षित र बजारको प्याडभन्दा कम खर्चमा घरेलु प्याड बनाउन जानेपछि स्थानीय महिलाहरु खुसी छन्। ‘बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न, कपडा, सुई, धागो, टाँक, कैँची भएपछि घरेलु प्याड बनाउन सकिन्छ,’ माग्ली बिष्टले भनिन्, ‘त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ। इन्फेक्सनबाट पनि जोगाउँछ ।’
यता तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल ९सिमा० सेनेटरी प्याड बनाउने तालिम निकै प्रभावकारी भएको बताउँछिन्।
सबै महिला दिदीबहिनीले बाहिरको प्याड खरिद गर्न सक्ने अवस्था छैन। कपडाको प्याड बनाउन सहज र कम खर्चिलो पनि छ’ उनले भनिन्,’घरेलु प्याड बनाएर सुरक्षित राखेपछि आवश्यक पर्ने बित्तिकै प्रयोग गर्न सक्छौँ, कसैको मद्दत लिनु पनि पर्दैन । ग्रामीण क्षेत्रमा अझै उपयोगी हुने देखिन्छ।’
प्रकाशित: ९ जेष्ठ २०८२ १३:१२ शुक्रबार