१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सिदिङ्वा धाम पर्यटन महोत्सवमा राजेश पायल राई आउने

जेठ १५ गतेदेखि ताप्लेजुङको सिदिङ्वामा हुने ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव–२०८२’ को तयारी तीव्र बनाइएको छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवम् सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार तयारी स्वरूप प्रचारप्रसारका काम अघि अघि बढाइएको छ भने अन्य आवश्यकी प्रबन्ध मिलाउन थालिएको छ ।

सांस्कृतिक मौलिकताको जर्गेना र खेलकुदको विकाससँगै ग्रामीण पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्य राखेर आयोजित ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव समग्र पालिकाका पर्यटकीय क्षेत्रको विकासको परिकल्पनाका आधारमा महोत्सव आयोजना गरिएको पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) बताउँछिन् । महोत्सव १५,१६ र १७ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवका क्रममा हुने सांस्कृतिक उत्सवमा गायक राजेश पायल राईको नेतृत्वमा रहेका कलाकार आउने निश्चित भएको पालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढा क्षेत्रीले जानकारी दिए । महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा,खेलकुद गतिविधि,स्थानीय उत्पादनको प्रदर्शन,सांस्कृतिक प्रस्तुति लगायतका गतिविधि हुनेछन् । खेलकुदतर्फ वडा स्तरीय भलिबल हुने छ । विजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी,पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । 

उपविजेताले ३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ । महोत्सवका अवसरमा हाफ म्याराथन प्रतियोगिता पनि हुनेछ । म्याराथनका विजेताले  ४० हजार,उपविजेताले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । कार्यक्रममा डोरी तान्नेतर्फ सामूहिक र एकल प्रतियोगिता समेत हुने छ भने छेल्लो हान्ने प्रतियोगिता समेत आयोजना गरिएको महोत्सव व्यवस्थापन सचिवालय संयोजक रुद्रप्रसाद बेघाले जानकारी दिए ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतितर्फ नौमती बाजा,च्याब्रुङ नाच (केःलाङ) सहित स्थानीय समुदायको जातीय संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुति हुने छ । याक,चौरी र भेडा प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि गाउँपालिकाले जनाएको छ। स्थानीय उत्पादन घिउ,छुर्पी सहित स्थानीय समुदायले स्थानीय स्तरका कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिने पालिकाले जनाएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि करिब ३७ लाख ९० हजार रुपैयाँ  बराबरको लागत अनुमान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले जानकारी दिए । उनका अनुसार महोत्सव सम्पन्न गर्न सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी १ सय १ सदस्यीय मूल समारोह समिति बनाइएको छ भने १० वटा उपसमिति निर्माण भएका छन् । उपसमितिलाई विषयगत जिम्मेवारी पूरा गर्न जिम्मेवारी प्रदान गरिएको महोत्सव मूल आयोजक समिति संयोजक एवम् पालिका अध्यक्ष राईले बताए । आयोजक समितिका सदस्य तथा सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बू दिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले महोत्सवमा स्थानीय परिवेश र आवश्यकतालाई ध्यान दिएर स्थानीय उत्पादनमा विशेष जोड दिइएको बताए ।

किंवदन्ती अनुसार श्रिङ्ग ऋषिले कठोर तपस्या गरी मनोकाङ्क्षा पूरा गरेकोले सिदिङ्वाधामको दर्शन गरे आफुले मागेको वर सिद्ध हुने जनविश्वास रही आएको छ । सिदिङ्वा धामबाट कञ्चनजङ्घा,पाथीभरा,कुम्भकर्ण सहितका हिमशृङ्खलाका साथमा भारतको सिक्किम र दार्जिलिङ सहितका स्थानहरूको अवलोकन गर्न सकिने स्थानीय प्रकाश राई बताउँछन् । सिदिङ्वा धामकै प्रसिद्धिबाट पालिकाको नाम नै सिदिङ्वा रहन गएको बताइन्छ । सिदिङ्वा धामबाट सिदिङ्वा गाउँपालिकाका ७ वटै वडाहरूलाई नियाल्न सकिने गाउँपालिकाले जनाएको छ । 

प्रकाशित: ५ जेष्ठ २०८२ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App