८ असार २०८२ आइतबार
image/svg+xml
समाज

हुम्लामा दुईवटा हिमताल फुट्यो, १९ घरधुरीको त्रिपालमा बास

हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा बाढी आएको छ। गाउँभन्दा सिधा माथि पर्ने थाक्रा भन्ने ठाउँको दुईवटा हिमताल फुटेर गाउँमा बाढी आएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।

हिमताल गत जेठ १ गते फुटेको वडाध्यक्ष तामाङले बताए। अहिले पनि लेदो बगिरहेको उनले बताएका छन्। सुरुमा के हो भन्नेबारे थाहा नभएको तर, आज हेर्न जाँदा गाउँभन्दा ९ घण्टाको पैदल-दूरीमा पर्ने थाक्रामा दुईवटा हिमताल फुटेको पत्ता लागेको उनले बताए।

'आज त्यहाँ पाँच जनाको टोली त्यहाँ पुग्यो,' वडाध्यक्ष तामाङले नागरिकसँग भने, 'त्यहाँ दुईवटा हिमताल फुटेकै देखियो। त्यसपछि नै लेदो बगिरहेको रहेछ भन्ने थाहा भयो।'

पहिरोबाट प्रभावित भई १९ घरधुरी गाउँभन्दा पारिपट्टी त्रिपालमा बसिरहेको उनले बताए। 'त्रिपालमा ३३ जना छन्। घरधुरी चाहिँ १९ हो। उनीहरूलाई खानेकुराको व्यवस्था गरेका छौँ। मैले मेरो तर्फबाट गर्न सक्नेजति सबै गरिसकेँ। यो वडा वा पालिकाले सक्ने खालेको समस्या होइन, सरकार नै लाग्नुपर्छ। अवस्था डेन्जर नै छ,' उनले भने।

जिल्ला प्रशासन कार्यालय, हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा, खानी तथा भूगर्भ विभागलगायतसँग समन्वय भइरहेको बताउँछन्।

घटनालगत्तै बाढीको कारण पत्ता लगाउन हिँडेको सुरक्षाकर्मीको टोली बीच बाटोबाटै फर्कन परेको पनि उनले जानकारी गराए। अत्यधिक अग्लो ठाउँमा रहेको र त्यहाँ पुग्नका लागि विभिन्न स्वास्थ्य समस्या देखिने हुँदा थप सकस भएको उनको भनाइ छ।

प्रभावित स्थानीयहरूले हेलिकोप्टर आए हुन्थ्य भनेर भनिरहेको पाण्डेयले बताए। 'हामीले गर्न सक्ने व्यवस्थापनको अधिकतम प्रयास गरिरहेका छौँ। अहिले हेलिकोप्टर आए हुन्थ्यो भन्ने हिजोदेखि नै छ। आज स्थानीय ५ जनाको टोली त्यहाँ पुगेको छ। उहाँहरूले देखेको कुराको आधारमा अन्य रणनीति बनाउनुपर्ने देखिन्छ,' उनले भने।

प्रकाशित: ४ जेष्ठ २०८२ २०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App