शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको पढाइमा परेको असरका कारण ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शैक्षिक क्यालेन्डरमा भएको मिन पचासको बर्षे बिदालाई घटाउने भएको छ ।
गाउँ शिक्षा समिति तथा पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठकले निर्णय गरेको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जानकारी दिए ।
शैक्षिक क्यालेन्डरमा भएको मिन पचासको बर्षे बिदालाई असार मसान्तसम्म घटाउने र वर्षा यामको मौसमलाई मध्यनजर गरी शिक्षा शाखाबाट सूचना जारी भए पश्चात् मात्र विद्यालय बिदा गर्ने निर्णय भएको शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष लिम्बूले जानकारी दिए । आन्दोलनका कारण विद्यालयको पढाइमा भएको असर भरण गर्न दसैँ–तिहार पश्चताका सार्वजनिक बिदाका दिनहरूमा समेत पठनपाठन सञ्चालन गर्ने सहमति बनेको पालिकाले जनाएको छ ।
पालिकाले विद्यालय भर्ना अभियानको सट्टा विद्यालय र अभिभावक सुधार योजना अन्तरगत जेठ १० गते सम्म पालिकाका सबै विद्यालयले अभिभावक भेटघाट तथा शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय लिएको छ । यस्तो कार्यक्रम सञ्चालन पश्चात् विद्यालयहरूले सोको प्रतिवेदन पालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने छ । पालिकाले पालिकाभरिका सामुदायिक विद्यालयले कम्तीमा एक पटक हरेक विषयको परीक्षा सञ्चालन गर्नुपर्ने तथा उत्तर पुस्तिका सहितको अभिलेख राख्नुपर्ने नियम समेत बनाएको छ ।
हरेक विषयको परीक्षाफल तथा प्रत्येक विषयको सिकाई उपलब्धि सहितको छुट्टै फायल खडा गरी तलवभत्ता माग फारम बुझाएको समयमा शिक्षा शाखामा पेश गर्नुपर्ने नियम समेत पालिकाले निर्धारण गरेको छ । प्रत्येक विद्यालयले महिनाको सुरुमा कम्तीमा एक महिनाको शुक्रवारीय अतिरिक्त क्रियाकलापको कार्य योजना तयार गरी देखिने स्थानमा टाँस गर्ने तथा सोही अनुसार कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने पालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिका भरीका विद्यालयहरूले एचपिएफ र रिड नेपालले सञ्चालनमा ल्याइरहेको‘सय प्रश्न’अभियान हरेक कक्षाकोठामा लागु गर्नुपर्ने भएको छ । त्रैमासिक र वार्षिक परीक्षाको नतिजा प्रकाशित गर्दा विद्यालयहरूले अनिवार्य रुपमा अभिभावकहरूलाई विद्यालयमा बोलाउनुपर्ने र सम्बन्धित अभिभावकलाई विद्यार्थीले लेखेको उत्तर पुस्तिका देखाई कमी कमजोरी औंल्याईदिनुपर्ने नियम समेत पालिकाले बनाएको छ । पालिका भरीका हरेक विद्यालयका प्रधानाध्यापकहरूले प्रत्येक शिक्षकसँग शिक्षकहरूले गर्नुपर्ने कार्य,पालना गर्नुपर्ने आचार संहिता,हाँसिल गर्नुपर्ने सिकाई उपलब्धि सहितका विषय समावेश गरी कार्य विवरण सम्झौता गर्नुपर्ने र त्यसको एकप्रति पालिकाको शिक्षा शाखामा पेश गर्नुपर्ने नियम समेत पालिकाले निर्धारण गरेको छ ।
पालिका भरीका विद्यालयहरूमा बाल क्लब तथा अंग्रेजी बोलीचाली क्लब गठन गरी क्लबहरूमार्फत वर्षभरि सञ्चालन हुने गतिविधिहरूको वार्षिक कार्यतालिका तयार गर्ने,कम्तीमा महिनामा एक पटक अतिरिक्त क्रियाकलाप अन्तरगतका कार्यक्रमहरू अंग्रेजी बोलीचाली क्लबमार्फत सञ्चालन हुने प्रबन्ध पालिकाका सबै विद्यालयले गर्नुपर्ने भएको छ । आउँदो आर्थिक वर्षका लागि बजेट व्यवस्थापन भएमा २०८२ सालको एसइई परीक्षा र कक्षा ८ को परीक्षामा समावेश हुने विद्यार्थीलाई अन्तिम ४ महिनाका लागि एक समयको खाना र खाजा प्रदान गरी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा उपस्थित गराई दिवा छात्रावासको व्यवस्था गर्ने निर्णय समेत पालिकाले गरेको छ ।
उक्त कार्यका लागि विद्यालयमै बिद्यार्थीहरुको लागि खानाको मेस सञ्चालन गरी प्रति विद्यार्थी ७० रुपैयाँमा एक समयको खाना तथा प्रति विद्यार्थी ३० रुपैयाँमा एक समयको खाजाको व्यवस्थापन पालिकाबाट गर्ने निर्णय भएको छ । शैक्षिक सत्र २०८२ देखि कक्षा ५ को वार्षिक परीक्षा समेत पालिका स्तरीय गर्ने निर्णय फक्ताङलुङले गरेको छ । उसले कक्षा ८ को वार्षिक परीक्षा यसअघिबाट नै पालिका स्तरीय गर्दै आइरहेको छ ।
पालिकाले शैक्षिक सत्र २०८२ देखि कक्षा ४ देखि माथिका हरेक कक्षाको हरेक बिषयमा विद्यार्थी सफल हुने दर कम्तीमा ६५ प्रतिशत हुनुपर्ने लक्ष्य निर्धारण गरेको छ । पालिकाले शैक्षिक सत्र २०८२ देखि सर्वोत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने शिक्षकलाई सम्मान तथा सबैभन्दा कम सिकाई उपलब्धि हासिल गर्ने विद्यालय तथा विषय शिक्षकलाई दण्ड स्वरूप पहिलो चरणमा सामाजिक सञ्जालमा नाम सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित: २ जेष्ठ २०८२ १७:२२ शुक्रबार





