२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

‘अर्ग्यानिक प्रदेश’ को तरकारीमा अत्यधिक विषादी

कर्णालीका सल्यान र दैलेख जिल्लाका केही स्थानलाई तरकारीको पकेट क्षेत्र मानिन्छ।

आम मानिस पनि दैलेखको गुराँसे, सल्यानको कालीमाटीलगायतका क्षेत्रबाट आउने तरकारीलाई आम उपभोक्ता विषादीरहित भन्दै किन्ने गर्छन्। तर आम उपभोक्ताको भान्छामा पाक्ने त्यही तरकारी परीक्षण गर्दा खानै नमिल्ने विषादीले भरिएको पाइएको छ।

दुई साताअघि सुर्खेतका थोक विक्रेताले सल्यानबाट नौ क्विन्टल काउली ल्याएका थिए। सुर्खेतमा परीक्षण गर्दा त्यसमा शतप्रतिशत विषादी फेला पर्‍यो।

‘अत्यधिक विषादी भएकाले त्यसलाई नष्ट गर्‍यौं, वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले भने, ‘अर्ग्यानिक प्रदेशमा मानव स्वास्थ्यलाई मात्रै होइन, पशु चौपायालाई पनि असर पर्ने विषादी तरकारीमा फेला पर्‍यो।’

सल्यानबाट ल्याइएको काउलीमा ९९ प्रतिशत अर्ग्याफस्फेट नामक विषादी फेला परेको थियो। यस्तै, सुर्खेतको झुप्राबाट ल्याइएको एक क्विन्टल काँक्रामा ५३ प्रतिशत र दाङबाट ल्याइएको पाँच क्विन्टल टमाटरमा ६१ प्रतिशत विषादी रहेको परीक्षणबाट पत्ता लाग्यो।

दैलेखको गुराँस गाउँपालिकाको सबैभन्दा नजिकको बजार हो, प्रदेश राजधानी वीरेन्द्रनगर। गत शनिबार गुराँसेबाट ल्याइएको फर्सीमा शतप्रतिशत विषादी भेटियो।

कृषि शाखा प्रमुख केसीका अनुसार गुराँस गाउँपालिका–६ बाट ल्याएको फर्सीमा शतप्रतिशत विषादी भेटिएको हो। ‘विषादीको मात्रा अत्यधिक भेटिएका तरकारीहरू नष्ट गरेका छौं,’ उनले भने, ‘विषादी परीक्षणलाई पनि तीव्रता दिइरहेका छौं।’

प्रदेश सरकारले कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने घोषणा गरेको छ। तर, तरकारी धेरै उत्पादन हुने जिल्ला र पकेट क्षेत्रहरूबाटै ल्याएका तरकारीमा अत्यधिक विषादी फेला परेपछि प्रदेश सरकारलाई अर्ग्यानिक प्रदेश घोषणा गर्न चुनौती थपिएको छ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई सुर्खेतका नायव प्राविधिक सहायक धनसिंह धामीका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा मात्रै तरकारी उपभोग गर्न मिल्छ।

‘३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्छ,’ उनले भने, ‘४५ प्रतिशतभन्दा बढी विषादी भेटिए तत्काल नष्ट गर्न सिफारिस गछौं।’ 

प्रयोगशालामा कार्बामेट र अर्ग्यानोफस्फेट विषादीको प्रयोग कति छ भन्ने परीक्षण हुन्छ। ‘सुर्खेतभित्रै र बाहिरबाट सुर्खेत भित्रिने तरकारीमा यी दुई विषादीको प्रयोग सर्वाधिक भेटिने गरेको छ,’ उनले भने, ‘विषादी सर्वाधिक भेटिएको तरकारी खान मिल्दैन।’

कृषि थोक बजारमा स्थापना भएको प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमुना परीक्षणमध्ये नौ ओटा तरकारीहरूमा अत्यधिक विषादी प्रयोग गरिएको पाइएपछि नष्ट गरिएको छ। २०८१ कात्तिकमा स्थापना भएको एकाइले हालसम्म एक हजार ४१६ नमुना परीक्षण गरिसकेको जनाएको छ।

धामीले हरेक दिन बिहान तरकारीको विषादी परीक्षण गर्ने गरिएको बताए। उनले अधिकांश तरकारीमा विषादीको मात्रा फेला पर्ने गरेको सुनाए। ‘प्रदेशभित्रका विभिन्न स्थानबाट आएका तरकारीमा विषादी फेला पर्ने गरेको छ,’ उनले भने, ‘यो चिन्ताको विषय हो।’

उनले अर्ग्यानिक भन्ने गरिएको जुम्लाको आलुलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएको बताए। ‘जुम्लाको आलुमा ३५ देखि ४५ प्रतिशत विषादी भेटियो,’ उनले भने, ‘यो भनेको क्वारेन्टाइनमा राखेर मात्रै खान मिल्ने हो।’

वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख केसीले विषादीको प्रयोग र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावका बारेमा आम उपभोक्तालाई जानकारी दिन आवश्यक रहेको बताए।

‘मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा कृषक, आम उपभोक्ता, विषादी विक्रेता सबैमा जनचेतना वृद्धि गर्न आवश्यक छ,’ नगरपालिकाका कृषि शाखा प्रमुख केसीले भने, ‘आम कृषक उत्पादक मात्र नभई उपभोक्ता पनि हुन भन्ने कुराको जानकारी बोध गराउनुपर्छ।’

रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियाननै थाले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ छ। 

प्रकाशित: ३१ वैशाख २०८२ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App