१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विद्यालयबाट हराएका ८ ल्यापटप डेढ वर्षपछि बोरामा भेटिए

ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ मा रहेको पार्टीडाँडा माध्यमिक विद्यालयबाट हराएका ८ ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेका छन्। सोही वडाको पित्तोलुङ भन्ने स्थानमा ल्यापटपहरू फेला परेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी गराए। 

उनका अनुसार २०८० पुस २२ गते राति विद्यालयको ढोका फोरेर ११ ल्यापटप चोरी भएको थियो। चोरी भएका ल्यापटप खोज्ने क्रममा केही दिनमै ३ ल्यापटप फेला परे पनि बाँकी फेला परेका थिएनन्। ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आइसीटी कक्षा स्थापनाका लागि विद्यालयलाई ती ल्यापटप हस्तान्तरण गरेको थियो। हस्तान्तरण भएको केही समयमै विद्यालय फोरेर ल्यापटप चोरी भएको अध्यक्ष वनेमले सुनाए। 

प्रहरी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र स्थानीयले खोजतलास गर्दा ती ल्यापटप फेला परेका हुन्। अध्यक्ष वनेमले घटनामा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ३१ वैशाख २०८२ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App