१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

गुरुबाटै दलित विद्यार्थीमाथि जातीय दुर्व्यवहार !

गुरुलाई ‘भगवान्’ सरह मानिन्छ। तर, पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले आफ्नै प्राध्यापकबाट जातीय दुर्व्यवहारको सिकार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

क्याम्पसमा अध्यापनरत प्रा.डा. देविलाल शर्माले शैक्षिक भ्रमणका क्रममा विद्यार्थी अमन परियारमाथि जातीय आधारमा गालीगलौज गरेको आरोप लागेको हो। परियार सोही क्याम्पसमा एमबिए तहमा अध्ययनरत छन्।

सिन्धुलीमा शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा सोमबार साँझ शर्माले ‘तँ... को छोरो, जात नभएको, .... जात जनायो’ जस्ता अपशब्द प्रयोग गरी अपमानजनक व्यवहार गरेको परियारको आरोप छ।

उजुरीमा भनिएको छ, ‘बिना कारण जातीय टिप्पणी गर्दै निरन्तर गाली गर्न थालेपछि विद्यार्थीहरूले आपत्ति जनाउँदा पनि शर्माले धम्की दिने शैलीमा बोले।’

शर्माले परियारलाई ‘शैक्षिक करियर समाप्त पारिदिने’ चेतावनी दिँदै ‘लोकसेवाको उत्तर पुस्तिका जाँच्ने जिम्मा आफैँसँग भएको’ दाबी गर्दै दुरुपयोगको धम्की दिएको उजुरीमा उल्लेख छ। ‘एनक्यू लगाएर जिन्दगीभर समस्यामा पारिदिने’ चेतावनीसमेत दिएको परियारको भनाइ छ।

दलित विद्यार्थी समाज पृथ्वीनारायण क्याम्पसले डा. शर्माविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएको छ। उजुरी दर्ता अघि समाजले क्याम्पस प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको थियो।

समाजका अध्यक्ष अमृत विकले जातीय विभेद जस्तो गम्भीर विषयमा चुप लागेर बस्न नसकिने बताएका छन्। ‘शैक्षिक स्थलमा गुरुबाटै जातीय अपमान हुनु दुखद छ। दोषीमाथि कडा कारबाही नभए हामी आन्दोलनमा उत्रिन्छौँ,’ उनले चेतावनी दिए।

समाजले डा. शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न र कानुनी कारबाही अघि बढाउन माग गरेको छ। विकले आवश्यक परे अदालतको ढोका ढकढक्याउन पछि नपर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित: ३० वैशाख २०८२ २१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App