१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तमानखोलाका ११७ घरमा खानेपानी धारा जडान

तमानखोला गाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ। वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयका घरमा धारासहित पानी सुविधा पुगेको छ। एक गाग्री पानी भर्न घण्टौं कुर्नुपर्ने समस्या हटेको स्थानीयले बताए। 

गाउँपालिकाको ४० लाख रुपैयाँ लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर, एक धारा’ योजना सफल भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताए। उनले भनिन्, ‘बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदा समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैं हतार हुन्थ्यो, अहिले त्यो समयको सदुपयोग भएको छ, आँगनमै धारा भएपछि सजिलो भएको छ।’

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबाट ५ लाख रुपैयाँ बराबरको काम गरे। साथै, १ लाख रुपैयाँ स्थानीयले संकलन गरेको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए।

आयोजनाले नर्जा खानीका १११ घरमा धारा जडान गरेको छ भने ६ वटा सार्वजनिक स्थानमा धारा बनाइएको छ। आयोजना सुरु भएको दुई वर्षमा गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भए। भौगोलिक रूपमा कठिन यो क्षेत्रको खानेपानी समस्यालाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए। रासस

प्रकाशित: ३० वैशाख २०८२ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App