बुद्ध जयन्तीका अवसरमा देशभर बौद्ध धर्मावलम्बीहरूले विविध कार्यक्रमसहित पर्व मनाइरहँदा भक्तपुरमा भने परम्परागत चण्डेश्वरी जात्रा भव्य रूपमा सम्पन्न भएको छ। चासुखेलस्थित चण्डेश्वरी मन्दिर क्षेत्र आसपास दुई दिनसम्म धूमधामका साथ यो जात्रा मनाइएको हो।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन, बुद्ध जयन्तीकै अवसरमा भक्तपुरको टिबुक्छे चासुखेलस्थित तीनतले चण्डेश्वरी मन्दिर अगाडि यो जात्रा आयोजना गरिन्छ। आइतबार रातिदेखि सुरु भएको जात्रा सोमबार दिनभर विविध धार्मिक विधिसहित सम्पन्न भएको हो।

जात्राको मुख्य दिन सोमबार बिहानैदेखि मन्दिरमा मेला लागेको थियो। भक्तजनहरूले देवीलाई बली चढाएका थिए- कसैले बोका त कसैले कुखुरा। छोरीबेटी र बुहारीहरूले भाकलअनुसार ‘फरिया’ देवीमा चढाउने परम्परा पनि निर्वाह गरेका थिए।

साँझपख रित्तो खटको शोभायात्रापछि देवीलाई खटमा विराजमान गराई बाजागाजासहित ठूलो लावालश्करसहितको जात्रा गरिएको थियो। यो जात्रा टिबुक्छे, साकोठा हुँदै चण्डेश्वरी उकालो मार्ग हुँदै अघि बढेको थियो। सरकारी पूजा सम्पन्न गरेपछि देवी पुनः सोही बाटो हुँदै फर्केर टिबुक्छे पुग्ने परम्परा रहिआएको छ।
जात्राको विशेष आकर्षण चौबाटोमा हुने अनौठो प्रक्रिया हो- जहाँ खटलाई बोकिँदैन, बरु भुइँमा तानेर घिसारिन्छ। यो प्रचलन नेपालको अन्य कुनै जात्रामा देखिँदैन।

त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुँदै क्वाछे ओरालोसम्म लैजाने चलन छ। अन्त्यमा मन्दिर परिसरको डबलीमा खट पुर्याएर मूर्ति झारेर ‘पेटी’ मा राखी भक्तजनबाट पूजा गरिन्छ। यसपछि मात्रै बनेपाको चण्डेश्वरी जात्रा सुरु हुने परम्परा छ।
चण्डेश्वरी जात्रा भक्तपुरका बासिन्दाका लागि दसैं, तिहार वा नयाँ वर्षभन्दा पनि महत्वपूर्ण मानिन्छ। यस अवसरमा घरघरमा भोज भतेर हुन्छ, छोरी-ज्वाइँलाई पनि बोलाएर स्वागत गरिन्छ।

यसवर्ष सोमबार साँझ चण्डेश्वरीको मूर्ति ‘द्यःछे’ (देवताघर) बाट निकालेर सिंगारिएको खटमा विराजमान गराइएको थियो। जात्राको क्रममा ‘टिप्वा’ (निगालोको मुठ्ठा) बालिएको थियो। विभिन्न स्थानमा ‘सिलाचा छ्वयेके’ भन्दै आगो बाल्ने परम्परा पनि जारी थियो। जात्रा सकिएपछि गुथीपुजा र सामूहिक भोज गरिएको थियो।
इतिहासविद्हरूका अनुसार जात्राको प्रारम्भ कहिलेदेखि भएको भन्ने विषयमा विस्तृत अध्ययन भने अझै भएको छैन। तर, उपलब्ध अभिलेख अनुसार नेपाल संवत ८४८ मा राजा रणजीत मल्लका पालामा टिबुक्छे टोलका पाँच समुदायले मन्दिरमा सुनको छाना छाएका थिए।
नेपाल संवत ८६५ मा चण्डेश्वरी देवी नजिक ‘पार्टी’ निर्माण गरिएको उल्लेख पनि पाइन्छ। त्यसैले चण्डेश्वरी जात्राको सुरुवात मल्लकालमै भएको अनुमान गर्न सकिन्छ।
प्रकाशित: २९ वैशाख २०८२ २१:४२ सोमबार