२६ श्रावण २०७७ सोमबार
समाज

‘यसपालि पनि बाढी आउला, कसरी बाँच्ने होला?’

बर्सेनि बाढीले दिएको पीडा सुनाउँदै राप्तीसोनारी गाउँपालिकाका पीडित। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – राप्ती नदीको बाढीले विस्थापित गरेको आठ महिना पूरा भइसकेको छ। तर, शमशेरगन्ज निवासी फिरिया चौधरीको घर अझैपुनर्निर्माणभएको छैन। फेरि बाढी पस्ने त्रासले उनको परिवारले घर पुनर्निर्माण हो। ‘अहिलेसम्म भत्केकै घरमा गुजारा चलाईरहेका छौं,’ उनले नागरिकसँग भनिन् ‘बर्खा नजिक आउँदैछ, फेरि पनि बाढीले सताउने त होला!’२०७१ सालदेखि गाउँमा लगातार बाढी पस्दै आएको उनले सुनाइन्।

उनको गाउँ राप्ती नदीको तटिय क्षेत्रमा छ। सामान्य बाढी आएपनि गाउँमा सजिलै पस्छ। राप्ती नदीको बाढी नियन्त्रण गर्न कुनै तटबन्ध बनेको छैन। बर्खामा ठूलो पानी परेपछि गाउँको दक्षिणतिर राप्तीनदी र उत्तरतिरबाट बग्ने खोलानालाले बितण्डा मच्चाउने स्थानीय बासिन्दा बताउँछन्।

राप्तीको बाढीले हरेक वर्ष सताउन थालेपछि शमशेरगन्ज गाउँका बाढीपीडितले घर पुनर्निर्माण गर्न छाडिसकेका छन् । पानी पर्न थालेपछि उनीहरू घरमा ढुक्कसँग बस्न सक्दैनन्। हरेक साल वर्षा यामका बेला राप्तीको बाढीले सताउन थालेपछि कतिपय पीडितले गाउँ नजिकैको डाँडामा अस्थायी टहरा बनाएर आश्रय लिन्छन्।

शमशेरगन्ज गाउँसँगै सटेको टिकुलीपुरमा पनि बाढी पीडितको बिजोग छ। राप्ती नदीको छेउमै रहेको उक्त गाउँपनि बर्सेनि आउने बाढीको चपेटामा पर्ने गरेको छ। बाढी आउने त्रासले टिकुलीपुरकी मैमकला राना चिन्तित छिन्। ‘पोहोर सालको बाढीमा मुस्किलले ज्यान बचाइम्,’ उनले भनिन् ‘यसपालि पनि पक्कै बाढी आउला, कसरी बाँच्ने होला खै?’ २०७४ साउन अन्तिम साता आएको बाढीले मैमकलाको परिवारसहित पूरै गाउँलेलाई विस्थापित गराएको थियो। त्यसअघि २०७१ सालमा पनि बाढीले यो गाउँमा ठूलै क्षति पु-याएको थियो।

राप्ती नदीको बाढी नियन्त्रण गर्न कुनै तटबन्ध बनेको छैन। बर्खामा ठूलो पानी परेपछि गाउँको दक्षिणतिर राप्ती नदी र उत्तरतिरबाट बग्ने खोलानालाले बितण्डा मच्चाउने गरेका छन्।

बाढी पश्चात् घरमा फर्केर आएपनि उनीहरू ढुक्कसँग बस्न सकेका छैनन्। मैमकलाले थपिन्, ‘२०५६ सालबाट टिकुलीपुरमा बस्न थालेका हौं, गाउँमा कहिल्यै बाढी पसेको थिएन, पोहोर साल त मान्छे डुबाउने खालको बाढी गाउँमा पस्यो।’ उनको आँगन र राप्ती नदीको बगरको उचाई बराबर छ । पछिल्लो समय त सानो बाढी आउनेबित्तिकै पानी उनको आँगनसम्म आइपुग्छ । बाढीलाई रोक्न गाउँमा कुनै तटबन्ध बनेको छैन। सरकारले बाढी नियन्त्रणका लागि पक्की तटबन्ध बनाइदिनुपर्ने उनी बताउँछिन्।

बर्खा सुरु हुन दुई महिनामात्र बाँकी रहँदा बाँकेका बाढीपीडित परिवारलाई बाढीको चिन्ताले सताउन थालेको छ ।सरकारले बाढीपीडितका लागि पुनःस्थापना कार्यक्रम नल्याएको र पक्की तटबन्ध निर्माणको पहल नगरेको भन्दै उनीहरूआक्रोशित छन्। बाढीका कारण बर्सेनिबाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडा बढी मात्रामा प्रभावित हुँदै आएका छन्।

अहिले बाढीपीडितले दिनहुँ गुनासो पोख्ने माध्यम बनेका छन्, स्थानीय तहका जनप्रतिनिधि। संघीय सरकारले बाढीपीडितको माग सम्बोधन नगर्दा स्थानीय तहका जनप्रतिनिधिका लागि टाउको दुखाइको विषय बनेको छ यो समस्या। डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पीडितहरूबर्सेनि बाढीको चपेटामा पर्दा एकपछि अर्को समस्या थपिने गरेको बताए। ‘फेरि बर्खालाग्ने समय आइसक्यो, बाढीपीडितका पुरानै समस्या यथावत छन्,’ उनले भने । बाढीको क्षति न्यूनिकरणका लागि गाउँपालिकाले पूर्व तयारी गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिए।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूलेबाढीपीडितहरूमा फेरि पनि बाढीको त्रास सुरु भएको बताए। ‘फेरि बर्खालाग्ने बेला भइसक्यो,पीडितले राम्रो घर बनाउन पाएकै छैनन्,’ उनले भने। बाढीको त्रासले कतिपय पीडित परिवार पुरानो घरमा फर्किन नसकेको अध्यक्ष थारूले सुनाए। ‘कतिपय परिवार बाढीको डरले घर फर्किन सकेका छैनन्, उनीहरू गाउँ नजिकैको उच्च जमिनमा बसेका छन्,’ उनले भने।

२०७४ को बाढीले जिल्लामै सबैभन्दा बढी क्षति राप्तीसोनारीमा पुु-याएको थियो। एकै घरका तीन नाबालिकाको मृत्यु हुनुका साथै हजारौं परिवार विस्थापित भएका थिए। यसवर्ष भने बाढीबाट हुने क्षति न्यूनिकरण गर्न गाउँपालिकाले पुर्व कार्ययोजना बनाएको स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले जानकारी दिइन्। ‘बाढीबाट हुने क्षति कम गर्न गाउँपालिका कार्यालयले गृहकार्य गरिरहेको छ,’ उनले भनिन्।

भत्केका तटबन्ध पुनर्निर्माण भएनन्
बाढीले भत्काएका तटबन्ध अहिलेसम्म पुनर्निर्माण भएका छैनन्। २०७४ साउन अन्तिम साता आएको बाढीले जिल्लाका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडामा रहेका तटबन्ध भत्काएको थियो। उक्त तटबन्ध पुनर्निर्माण नहुँदा बाढीको उच्च जोखिम बढेको स्थानीय जनप्रतिनिधी बताउँछन्। संघीय सरकारले समयमै तटबन्ध पुनर्निर्माणतिर चासो नदिएको उनीहरूको गुनासो छ। गाउँपालिकाले केही ठाउँमा आफ्नो बजेटबाट तटबन्ध पुनर्निर्माण गरेका छन् । तर, अधिकांश ठाउँमा पुनर्निर्माण नहुँदा राप्तीमा सानो बाढी आउनासाथ गाउँ डुब्ने खतरा रहेको जनप्रतिनिधीहरू बताउँछन्।

बाढीको सबैभन्दा धेरै चपेटामा परेको राप्तीसोनारी गाउँपालिकाले केही ठाउँमा आफ्नै बजेटबाट भत्केको तटबन्ध पुनर्निर्माण गरेको जनाएको छ। तर, २०७४ साउन अन्तिम साताको बाढीले भत्काएका राप्तीसोनारी–३ को साइपुर, वडा नम्बर ४ पसरामपुर र वडा नम्बर–५, बिनौनाको ललहीस्थित ‘जनताको तटबन्ध’ अहिलेसम्म पुनर्निर्माण नभएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले बताए।

‘गाउँपालिकाको बजेटबाट हामीले केही ठाउँमा तटबन्ध, कुलो र सडक पुनर्निर्माणगरेका छौं, तर जनताको तटबन्धले बनाएका धेरै ठाउँका तटबन्ध पुनर्निर्माण भएका छैनन्,’ उनले भने, ‘सानो बाढी आउनेबित्तिकै गाउँमा सजिलैसँग बाढी पस्ने खतरा छ।’

डुडुवा गाउँपालिका अध्यक्ष चौधरीले पनि राप्ती नदी र डुडुवा खोलामा भत्केका तटबन्ध पुनर्निर्माण नभएको सुनाए। ‘२०७१ र २०७४ का बाढीले भत्काएका तटबन्ध पुनर्निर्माण भएका छैनन्, केही ठाउँमा गाउँपालिका आफैले पुनर्निर्माण गरिरहेको छ,’ चौधरीले भने ‘हामीले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई पटकपटक गुहार गरिसक्यौं, तर कुनै वास्ता गरेको छैन।’

प्रकाशित: १८ वैशाख २०७५ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App