बाँकेको राप्ती नदीपारिको नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सहज बन्दै गएको छ।
हुलाकी सडक बनेपछि नरैनापुरबाट आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुर–४ का ताजमोहम्मद खानले बताए। ‘हुलाकी सडक नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,’ उनले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ।’
सडक बनेपछि नेपालगञ्जबाट नरैनापुरको सुइया बघौडासम्म दैनिक चारवटा सार्वजनिक बस सञ्चालन हुने गरेका छन्। सडकले स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवले बताए।
‘पहिला बिरामीलाई अस्पताल लैजान निकै कठिन हुन्थ्यो, अहिले गाउँमै एम्बुलेन्स पुग्छ, बिरामीलाई नेपालगञ्ज लैजान सजिलो भएको छ,’ उनले भने, ‘नरैनापुरमा क्याम्पस छैन, सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान सहज भएको छ।’
पहिला भारतीय बजारमा निर्भर नरैनापुरलाई हुलाकी सडकले नेपालगञ्जसँग जोडेको यादवले बताए। भित्री गाउँसम्म सडक निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्ने उनको सुझाव छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडकले नरैनापुरवासीको जीवनमा ठूलो परिवर्तन ल्याएको बताए। छवटै वडाका गाउँसम्म सडक निर्माणलाई प्राथमिकता दिएको उनले जनाए।
नेपालगञ्ज–बघौडा सडक निर्माणको चर्चा सुरु भएको २३ वर्षपछि ४४ किलोमिटर सडक बनेर आवागमन सहज भएको सङ्घीय सांसद सूर्य ढकालले बताए। सडक निर्माणमा समन्वय र चासो देखाएको भन्दै उनले यसले नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे। रासस
प्रकाशित: २७ वैशाख २०८२ ११:११ शनिबार