झापा बिर्तामोडका एक जना उद्योगी, व्यवसायी तथा सामाजिक अभियन्ता मृत फेला परेका छन् ।
बिर्तामोड नगरपालिका–१ का विनोद बस्नेतले आफ्नो घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको झापा प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए । उनले शुक्रबार (आज) बिहान उनकै कोठाभित्र मृत फेला परेको बताए ।
बस्नेत दैनिक बिहान खेल्न र वाकिङमा जाने गरेको थिए । तर, शुक्रबार बिहान बाहिर नगएको र कोठाभित्र चुकुल लगाएको अवस्थामा बाहिरबाट बोलाउँदा नबोलेपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्था फेला परेको बताउँदै, डिएसपी खड्काले भने, ‘कोठाभित्रबाट लगाइएको रहेछ । मृतक बस्नेतको मोबाइललगायत सबै सामान कोठाभित्र नै छ । त्यस्तो शंकास्पद अहिले नदेखिए पनि विभिन्न पाटाबाट अनुसन्धानको काम सुरु भइसकेको छ ।’
बाहिरबाट हेर्दा त्यस्तो शंकास्पद कुनै ‘सिन’ देखिँदैन । तर, पनि घटना हो यसै भन्न सक्ने अवस्था हुँदैन । शवको पोस्टमार्टमको रिपोर्ट लगायत अन्य अनुसन्धानबाट खुलेपछि घटनाको यर्थाथ आउने छ, डिएसपी खड्काले भने ।
झापा गोल्डकपको निवर्तमान अध्यक्षसमेत रहेका बस्नेत उनी मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव हुन् । उद्योग तथा व्यापार, व्यवसाय गर्दै आएका थिए ।
मृतक बस्नेतकी श्रीमती र एक छोरी छन् । घटनाको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २६ वैशाख २०८२ १४:५५ शुक्रबार




-600x400.jpg)
