१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विद्युत् सर्ट भएर घरमा आगलागी

गए राति उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियास्थित मुसहरनियामा आगलागी हुँदा एक घर जलेको छ। घरको विद्युत् सर्ट भई गए राति आगलागी हुँदा सोबित खत्रीको घर जलेको हो।

भान्साघरको विद्युत् सर्ट भएर लागेको आगोले खत्रीको काठबाट बनेको टिनको छाना भएको २ तले घर जलेको हो। आगलागीबाट घरभित्र रहेका सम्पूर्ण अन्नपात, भाँडाकुँडा, लत्ता कपडा, सुनचाँदी, नगद, फर्निचर तथा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो लागेको जानकारी प्राप्त भए पनि समयमा निभाउन अग्नि नियन्त्रक गाडी (दमकल) पठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नगरमुकाम बेलटार र सदरममुकाम गाईघाटबाट दमकल लान त्रियुगा खोलाले अवरोध गर्दा आगोको क्षति कम गर्न नसकिएको हो । अघिल्लो दिन परेको वर्षाले बेलटार–हडिया खण्डमा पर्ने त्रियुगा नदीमा सञ्चालन गरिएको अस्थायी सडकको ह्युम पाइप बगाएर आउजाउ अवरुद्ध पारेको छ ।

सडक नहुँदा तत्काल दमकल घटनास्थल पुर्‍याउन नसकेर पनि क्षतिबाट बचाउन नसकिएको प्रहरीले जनाएको छ । 

वडाध्यक्ष धर्मेन्द्र खड्काले घर आगोले जलेपछि एकै ठाउँ बस्दै आएका सोबित र दाजु मोहन खत्रीको सगोल २ परिवार बिचल्लीमा परेको बताए । खत्री दाजुभाइको १० जनाको २ परिवारलाई तत्कालका लागि छिमेकीको घरमा शरण दिएर राखिएको छ भने सकेसम्म चाँडो पुनरबार्सको व्यवस्था मिलाउन नगरपालिका र प्रहरी, प्रशासन लगायतसँग समन्वय गरिरहेको वडाध्यक्ष खड्काले बताएका छन् । 

प्रकाशित: २४ वैशाख २०८२ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App