१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

विमानस्थलमा चरा र वन्यजन्तुको जोखिम टार्ने उपाय खोजिँदै

<br>

विमानस्थलमा चरा र वन्यजन्तको जोखिमबारे पोखरामा चलिरहेको छलफलका सहभागि। तस्बिरः नागरिक

विमानस्थलमा वन्यजन्तु र चराचुरुंगीका गतिविधिका कारण निम्तिने जोखिम र त्यसको समाधानको उपायबारे छलफल गर्न एशिया प्रशान्त क्षेत्रका हवाई तथा नागरिक उड्डयन विज्ञ पोखरामा भेला भएका छन्। हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौं बैठकका लागि विभिन्न नौवटा मुलुकका प्रतिनिधि पोखरा आएका हुन्।  

पहिलोपटक पोखरामा भएको भेलामा हवाइ उड्डयनमा वन्यजन्तु र चराचुरुंगीका कारण निम्तिएको जोखिमबारे गहन छलफल हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ। प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार पोखरामा पहिलोपटक भएको छलफलमा विमानस्थलमा चराचुरुंगी र वन्यजन्तुका कारण निम्तिएको जोखिम कम गर्ने उपायबारे विस्तृत छलफल हुनेछ।  

‘विभिन्न नौवटा मुलुकका हवाई उड्डयनका विशेषज्ञ व्यक्ति यो भेलामा सहभागि हुनुहुन्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) प्रतिनिधि सहितको यो भेलाले विमानस्थलमा चराचुरुंगी र वन्यजन्तुका कारण निम्तिने जोखिमबारे छलफल हुनेछ,’ उनले भने, ‘जोखिमबारे छलफल हुने मात्र नभई ती जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर पनि बहस हुनेछ। यस्ता जोखिम कम गर्नका लागि अपनाइने उपायबारे पनि अनुभव साटासाट हुनेछ।’

भूलका अनुुसार विमानस्थलमा चराचुरुंगी र वन्यजन्तुको जोखिम बेलाबेला थपिने गरेको छ। कहिले धावनमार्गमा चराको हुलै आएर अवरुद्ध गर्ने त कहिले जनावरसँग जहाज ठोक्किने घटना हुने गरेका छन। चराको भीडभाडका कारण उडान अवरुद्ध हुने, उडान डाइभर्ट हुने जस्ता घटना पनि हुने गरेका छन।

‘नेपालमा मात्र नभई चराचुरुंगी र चारखुट्टे जनावरका कारण विभिन्न मुलुकका विमानस्थलमा बेलाबेला समस्या निम्तिने गरेको छ,’ उनले भने, ‘ती समस्यालाई कसरी समाधान गर्ने भन्ने बारेमा पोखरामा छलफल हुनेछ।’ 

भेलामा सहभागि मुलुकका हवाई उड्डयनका विज्ञहरुले अनुभव साट्ने र ती समस्या समाधान गर्न अपनाइएको तरिकाबारे पनि जानकारी दिइने उनले बताए।  

त्यसबाहेक चराचुरुंगी र वन्यजन्तुका कारण निम्तएको समस्या समाधान गर्न प्रयोग गरिएका सामाग्रीको बारेमा पनि छलफल हुने उनले बताए। ‘चरा र जनावर धपाउन कस्ता उपाय लगाएको छ। कुन खालको प्रविधि प्रयोग गरिएको छ भनेर पनि पोखराको यो भेलामा अनुभव साटासाट हुनेछ,’ उनले भने, ‘जनावर र चराका कारण कुनैपनि हवाई उडानमा समस्या आउनु हुँदैन।’ पोखरामा पहिलो पटक भएको यो बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित बनाउन झनै बल पुग्ने उनले बताए।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि ‘बर्ड स्ट्राइक’ को समस्या यथावत रहेको सहप्रवक्ता भूलले बताए। ‘पोखरामा चराले हवाई उडानमा निकै नै समस्या थपिदिएको छ। धावनमार्गमै चराको हुल आएर बस्ने, उड्न नमान्ने, जहाजसँगै चरा ठोक्किने, धावनमार्ग नछाड्दा जहाज नै अवतरण गर्न नसक्ने, जहाज डाइभर्ट हुने लगायतका समस्या अझै पनि छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन सुरु भएदेखिका समस्या अझै हटिसकेका छैनन,’ उनले भने, ‘पोखरालाई फोकस गरिएको यो छलफलले भविश्यमा विमानस्थल सुरक्षित बनाउन बल पुग्नेछ।’  

भूलका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बिगबिगी छ। त्यस्तै नेपालगञ्जमा बँदेलको समस्या र बिराटनगरमा निलगाईले बेलाबेला समस्या पार्ने गरेको छ। 

‘पानीको श्रोत नजिक भएकोले पनि पोखरालाई चराबाट बढी नै चूनौती छ,’ उनले भने, ‘पोखराको यो भेलाले विमानस्थलमा देखिएको चराको समस्या हल गर्न बल पुग्नेछ। चरा धपाउने नयाँ उपायबारे र प्रविधिबारे पनि जानकारी हुनेछ।’ 

विज्ञहरुको भेलाले तयार पारेको रिपोर्ट आइकाओमा पुग्नेछ। त्यसपछि आइकाओले आवश्यकता अनुसार कार्यन्वयनका लागि शिफारिस पनि गर्ने उनले बताए।  

पोखराको यो कार्यशाला सहितको बैठकमा हवाई उड्डयन क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायहरूको खोजी गरिने विज्ञले बताएका छन्। बैठकमा बोल्दै पर्यटनमन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिम कम गर्नुपर्नेमा जोड दिएका थिए। हवाई यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको भनाई थियो।  

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलताप्रति सबैजना सचेत रहेको बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व नजिकै रहेको ल्याण्डफिल साइट स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा ल्याएको भएपनि ल्याण्डफिल साइट स्थानान्तरण सजिलो थिएन,’ उनले भने, ‘तर, व्यवस्थापन आवश्यक थियो, कैयौं अप्ठेराबीच ल्याण्डफिलसाइट व्यवस्थापन गरिएको हो।’ विमानस्थलको सुरक्षा संवेदनशीलता बुझेर महागरले एकमहिनाभित्रै उक्त ल्यान्डफिल साइटलाई सुरक्षित दूरीमा सारेको उनले बताए। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सेवालाई सबैको पहुँचमा पुर्याउँदै यसका विद्यमान जोखिमको समाधानमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए।  

प्रकाशित: २३ वैशाख २०८२ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App