जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेका ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन अवस्थामा छन्।
वडाका नापानी, गढिगाउँ, मणि साँघु, डिल्ली कोट र मणि गाउँका बासिन्दा अदालीखोला लघु जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि अन्धकारमा बस्न बाध्य भएका हुन्।
गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको स्थानीय परेक ऐडीले बताए।
बिजुली अभावले दैनिक जीवन, बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी र स्थानीय फर्निचर उद्योगमा गम्भीर असर परेको अर्का स्थानीय गणेश ऐडीले उल्लेख गरे।
अधिकांश स्थानीय टुकी र झरोको भरमा छन् भने सोलार भएका घरमा मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताए। २०७५ मा निर्माण भएको यो आयोजनाको मर्मतका लागि ७ देखि १२ लाख रुपैयाँ आवश्यक रहेको उनको भनाइ छ। आयोजनाका सचिव काली प्रसादले बत्तीबाट उठेको रकम कर्मचारीको तलबमा खर्च भइरहेको जनाए।
गुठिचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले ३ लाख रुपैयाँ विनियोजन गरेको र २.५ लाख खर्च भइसकेको बताए।
नहर मर्मतका लागि १२ लाख रकम व्यवस्थापन गरिएको भए पनि जलविद्युत मर्मतका लागि विनियोजित ७ लाखलाई घटाएर ३ लाखमा सीमित गरिएको उनले स्वीकार गरे।
प्रकाशित: २२ वैशाख २०८२ १७:१२ सोमबार





