वैशाखको चर्को गर्मीमा चुनमती शाहीको शरीर पसिनाले भिजेको छ। अनुहार धुलाम्मे छ, ओठमुख सुकेका छन्। हत्केलामा ठेला छन्। दायाँ हातमा हथौडा, बायाँमा ढुंगा छ। च्यातिएका पञ्जा लगाएर उनी गिट्टी कुट्छिन्।
नयाँ मानिस देख्नासाथ गिट्टी बिक्री हुने आशमा मोलमोलाइ सुरु गर्छिन्। कोही नजिक आउँदा उनलाई ‘गिट्टी किन्न आएको हो कि?’ भन्ने लाग्छ। तर, ग्राहक नभएको थाहा पाएपछि उनको अनुहारमा निराशा छाउँछ। गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्छिन्।
यो दृश्य जुम्लाको चन्दननाथ नगरपालिका-४, मालाभिड सडकको हो। दुई वर्षअघि श्रीमान् गोरखराज शाही जेल परे। मुगुको छायाँनाथ रारा नगरपालिका-६, मन्दु गाउँमा सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा उनी जेलमा छन्। २०८० कार्तिक ८ मा श्रीदेवी बोहोरा र उनका तीन सन्तानको शव भेटिएको थियो।
मुगुको पिना गाउँकी ३५ वर्षीया चुनमतीको दैनिकी गिट्टी कुटेर बित्छ। गिट्टी नकुटे उनको चुल्हो बल्दैन।
गत भदौदेखि उनी जुम्लाको चन्दननाथ नगरपालिका-४, सिंगाचौरमा अर्काको घरमा बस्छिन्। गाउँमा हुँदा उनलाई केही कमी थिएन। घर थियो, अन्न बिक्री हुन्थ्यो, छोराछोरी स्कुल जान्थे। तर, श्रीमान् जेल परेपछि सबै सपना भताभुङ्ग भए। नौ महिनादेखि उनी तीन जनाको परिवारसहित जुम्लामा छिन्।
आँसु पुछ्दै उनले भनिन्, ‘मेरो छोरा लक्की ५ वर्षको छ, छोरी खुसी ११ वर्षकी छिन्। स्कुल जान पाएका छैनन्। मलाई ढुंगा ल्याउन सघाउँछन्। अरुका छोराछोरी अक्षर चिन्छन्, मेरा ढुंगा गन्छन्। भगवान् कहाँ छन्? पढ्ने पैसा छैन। गिट्टी बिकेन भने खान पाइँदैन। अर्काको ठाउँमा कोही छैन। यही गिट्टी नकुटे कसरी पेट भर्ने?’
उनले थपिन्, ‘शरीर कमजोर छ, ज्यान सन्चो छैन। गिट्टी कुट्न खोज्छु, तर सकिँदैन। भाग्य फुटेपछि गिट्टी पनि फुट्दैन।’ साना छोराछोरीको खर्च जुटाउने जिम्मा उनकै काँधमा छ। ‘गिट्टी कुट्न छोडे चुल्हो बल्दैन। बजार महँगो छ। दिनभर गिट्टी कुट्छु, रातभर शरीर दुख्छ,’ उनले भनिन्।
धेरै गिट्टी कुट्न नसक्दा छाक टार्न मुस्किल छ। ढुंगा बोकेर ल्याउँछिन्। एक हप्ताअघि ८ हजारका गिट्टी बेचिन्। जुम्लामा गिट्टी प्रति ट्याक्टर ४ हजारमा बिक्छ।
उनकी घरमालिक मन्नु सार्की भन्छिन्, ‘चुनमतीको जीवन दुखले चलिरहेको छ। मेरो घरमा बसेकी छिन्। कोठा दिएकी छु। अर्काको ठाउँमा महिलालाई बाँच्न गाह्रो छ। म पनि गिट्टी कुटेर परिवार पाल्छु।’ मन्नुले भर्खरै ६ हजारका गिट्टी बेचेको सुनाइन्।
प्रकाशित: २१ वैशाख २०८२ ०८:२२ आइतबार





