१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

चौदण्डीगढीको अनियमित उत्खननमा प्रशासनको रोक

लामा खोला आसपास उत्खनन गरिएको जमिन। तस्वीर: महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिकामा भइरहेको अनियमित जमिन उत्खननमा प्रशासनले रोक लगाएको छ।

नगरपालिकाको वडा नम्बर-२ र ४ मा पर्ने लामाखोला आसपास केही समयदेखि जथाभावी उत्खनन भइरहेको गुनासो आएपछि शुक्रबारदेखि उक्त कार्य रोकिएको हो।

स्थानीयबासीले ऐलानी जग्गामा गहिरो गरी खनिएको जमिनका कारण बर्खायामको समयमा खोलामा बाढी आउने, जमिन कटान हुने र ढुङ्गा–माटो बिक्री गरिँदै आएको भन्दै नगरपालिका र प्रशासनको पटकपटक ध्यानाकर्षण गराएका थिए।

उनीहरूको गुनासोपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले घटनास्थल पुगेर निरीक्षण गरेको हो।

निरीक्षण टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले स्थानीयको गुनासो यथार्थ देखिएकाले तत्काल उत्खनन रोक्न निर्देशन दिएको बताए।

उनले लामाखोलाको ऐलानी जग्गामा ६–७ फिटसम्म गहिरो गरी खनिएको भेटिएको जनाए। “स्थानीयले तत्काल रोक्न सुझाव दिए, हामीले पनि त्यही अनुसार निर्देशन दियौं,” सीडीओ लुईटेलले भने।

स्थानीयका अनुसार साङ्गे छोयलिङ कन्स्ट्रक्सनले ठेक्का लिएर उत्खनन गरिरहेको भए पनि पटक-पटक जानकारी दिँदा समेत कम्पनीले वास्ता नगरेपछि बाध्य भएर प्रशासन गुहार्नुपरेको थियो। प्रशासनले उत्खनन हाललाई रोके पनि फेरि उस्तै अवस्था आउनसक्नेमा उनीहरू सशंकित छन्।

वडा नं. ४ का वडाध्यक्ष लुङ्गराज राईले निर्माण कम्पनी र स्थानीयबीच सामान्य विवाद उत्पन्न भएकाले एक पक्षले प्रशासनमा उजुरी दिएको बताए।

उनका अनुसार नगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आईईई) लगायत सबै कानुनी प्रक्रिया पुरा गरेर उत्खनन सुरु गरेको थियो। “विवादका कारण प्रशासनमा उजुरी पुगेपछि अहिलेका लागि काम रोकिएको हो,” उनले भने।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन राईले पनि केही स्थानीय असहमत देखिएपछि माथिल्लो निकायको निर्देशनअनुसार उत्खनन रोकेको जानकारी दिए।

उनका अनुसार जिल्लाको समन्वय समिति, सीडीओ र प्रहरी प्रमुख सहितको टोलीले स्थलमा पुगेर उत्खनन रोक्न आदेश दिएको हो।

प्रशासनले अब नगरपालिकासँग कानुनी प्रक्रिया पुरा भए/नभएकोबारे यथार्थ जानकारी लिई आवश्यक निर्णय लिने जनाएको छ।

जिल्लामा नदीजन्य पदार्थ उत्खननका लागि अनुमति दिने जिम्मा जिल्ला समन्वय समितिको हो। समितिका संयोजक गौरबहादुर विश्वकर्माको नेतृत्वमा अनुगमन समितिले यसबारे निर्णय गर्ने बताइएको छ।

प्रकाशित: २० वैशाख २०८२ १५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App