यातायात व्यवस्था कार्यालय गाईघाट दुईतिर बाँडिएपछि सेवाग्राही आउन छाडेका छन्। स्थापनाकालदेखि सदरमुकाम गाईघाटमा सञ्चालन हुँदै आएको कार्यालयको केही काम पुस अन्तिम सातादेखि गर्नेगरी त्रियुगा नगरपालिका ६ जलजलेमा कार्यालय सुरु गरिए पनि सेवाग्राही भने आउदै आउँदैनन्।
गाईघाटदेखि ७ किलोमिटर पश्चिम जलजलेस्थित ६ नं. वडा कार्यालय परिसरकै ऐलानी जमिनमा ४ वटा ब्लक (टहरा) निर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको हो। प्रदेश सरकार, सहरी विकास मन्त्रालयको बजेटमा बनाइएको ब्लकमा सञ्चालित कार्यालयमा पातलो सेवाग्राही आउने कर्मचारीहरू बताउँछन्।
हाल ५ कर्मचारी खटाइएको कार्यालयले सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै काम गर्ने गरेको शाखा अधिकृत सुबास अधिकारीले बताए। उनका अनुसार गाईघाटको दाँजोमा त्यहाँ सवारी अनुमतिपत्र लिने र नवीकरण गर्ने सेवाग्राही नगन्य सङ्ख्यामा आउने गरेका छन्। कुनै दिन ५–७ जना आउने कुनै दिन त शून्य सेवाग्राही आउने गरेको उनले बताए।
लाइसेन्स शाखाका कम्प्युटर अप्रेटर गणेश उप्रेतीले सेवाग्राही कम आउने गर्दा फटाफट काम गर्न नपाएर कर्मचारीहरु दिक्क मान्ने गरेको बताए। गाईघाटमा सेवाग्राहीको चापले चिया खानसम्म नभ्याउने गरी काम गर्दै आएको स्मरण गर्दै उप्रेतीले काम गर्न नपाउँदा अल्छी र दिक्दारी लाग्ने गरेको बताए। गाईघाटमा सदरमुकाम र मदन भण्डारी लोकमार्गले छोएको तथा सबै सरकारी कार्यालयहरु त्यहीँ भएकाले सेवाग्राही भीड लाग्ने गर्थ्यो।
जलजले एकातिर नयाँ ठाउँ र टाढा परेको तथा अर्कातिर अपायक भएकाले पनि सेवाग्राही कम आउनु स्वाभाविक हो। ‘गाईघाटको दाँजोमा जलजले एकान्त र सदरमुकामदेखि ७ किलोमिट टाढा जानुपर्दा सेवाग्राही आउन गाह्रो मान्छन्,’ उप्रेतीले भने, ‘उदयपुरकै चौदण्डीगढी र बेलका नगरका सेवाग्राही जलजले आउनुभन्दा इटहरी पुग्न सहज मान्दै उतै जाँदा रहेछन्।’ पश्चिमतर्फ कटारीबासीलाई पनि गाईघाट आएर जलजले घुम्नुभन्दा सिराहा लाहान र जनकपुरबाट लाइसेन्स लिन सहज लाग्ने हुँदा पनि सेवाग्राही घटेका हुन्।
कार्यालय प्रमुख गणेश दाहालले भने प्रदेशमातहतको कार्यालय भएकाले उसले तोकेकै ठाउँ जलजलेमा आधा कामकाज गर्नेगरी कार्यालय सुचारु गरिएको बताए। प्रदेश सांसद हिमाल कार्कीको प्रयासमा जलजलेमा जमिन व्यवस्था गरी ब्लक बनाएर लाइसेन्सको सबै काम गर्नेगरी कार्यालय सञ्चालनमा ल्याइएको दाहालले बताए। उनका अनुसार गाईघाटमा यातायातको स्वामित्वमा जमिन र भवन नभएकाले व्यक्तिको घर र जग्गा भाडामा लिएर कार्यालय सञ्चालन गरिदै आएको छ।
आफ्नै स्वामित्वमा भवन बनाएर कार्यालय सञ्चालन गर्ने सुरुदेखिको उदेश्य अनुसार जमिन खोज्दा जलजलेमा व्यवस्था गर्न सफल भएर प्रदेश सरकारको सहयोगमा ०७९/८० मा २ वटा ब्लक बनाइएको थियो। ०८०/०८१ मा थप ब्लक बनाएर गएको पुस २८ गतेदेखि त्यहाँ कामकाज सुचारु ग्गरिएको हाकिम दाहालले बताए। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कामकाज त्यहीँबाट गरिदै आएको उनले बताए।
कार्यालय प्रमुख दाहालले भवन अभावले मात्र लाइसेन्सको मात्र काम भइरहेको बताउँदै आवश्यक भवन व्यवस्था भएपछि सबै काम त्यहीँबाट गर्नेगरी कार्यालय स्थानान्तरण गर्ने योजना सुनाए। उनका अनुसार चालु वर्ष थप दुईवटा ब्लक बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ। सो भवन बनेपछि सबै कामकाज त्यहीँबाट गर्नेगरी कार्यालय सार्ने दाहालले बताए।
सहरी विकास कार्यालयका प्राविधिक उमेश श्रेष्ठले चालु वर्षभित्रै सक्ने गरी २ वटा ब्लक बनाउने काम सुरु भएको बताए। साइट इनचार्जसमेत रहेका श्रेष्ठका अन’सार ५० लाख बजेटमा बन्ने २ ब्लकमध्ये एउटा कार्यालय प्रमुख आवास र अर्को कार्यालय प्रयोजनमा प्रयोग गरिनेछ। दुवै ब्लक आउँदो जेठ मसान्तभित्र निर्माण गरिसक्ने निर्माण कम्पनीसँग सम्झौता भएको पनि श्रेष्ठले बताएका छन्।
प्रकाशित: २० वैशाख २०८२ १२:३८ शनिबार





