नेपाल शिक्षक महासंघका महासचिव तुला थापाले विद्यालय कर्मचारीहरू विद्यालयको औपचारिक संरचनाभित्र नपरेका कारण उनीहरूका माग सम्बोधन गर्न नसकिएको बताएका छन्।
बिहीबार नागरिकन्युजसँगको कुराकानीमा उनले यस्तो स्पष्टीकरण दिएका हुन्। उनको यो बयान नेपाल विद्यालय कर्मचारी परिषद्ले महासंघ र सरकारबीच भएको सम्झौता अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको सन्दर्भमा आएको हो।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले कर्मचारीका मागलाई बेवास्ता गरी एकतर्फी सम्झौता गरेको आरोप लगाए थिए।
बिहीबार मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलमा आयोजित भेलामा सम्झौताबारे छलफल गर्ने क्रममा कर्मचारी र शिक्षक नेतृत्वबिच यसै विषयमा तनाव भएको थियो।
अध्यक्ष तिवारीले सरकारसँगको सम्झौता कर्मचारी हित विपरीत भएको भन्दै खारेज गर्न माग गरेका थिए। “आठ हजार तलब खाने कर्मचारीको पीडा महासङ्घलाई कहाँ थाहा ? सञ्चित बिरामी बिदाको सुविधा पनि दिइएन। यो सम्झौता हामीलाई मान्य छैन,” तिवारीले भनेका थिए।
यसै विषयमा नेपाल शिक्षक महासंघका महासचिव थापाले विद्यालय कर्मचारीहरू विद्यालयको औपचारिक संरचनाभित्र नपर्ने जवाफ दिएका हुन्। ‘त्यसैले उहाँहरूको माग सम्बोधन गर्न सकिएन।’ उनले भनेका छन्।
प्रकाशित: १८ वैशाख २०८२ १८:५५ बिहीबार





